काठमाडौँ, १७ चैत : प्रहरी प्रधान कार्यालयले काठमाडौँको तीनकुनेमा यही १५ गते पूर्वराजाको समर्थनमा तीनकुनेमा भएको प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न हुनेहरुको सूचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले अनुसन्धानका लागि त्यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति र घटनाका तथ्यपरक सूचना उपलब्ध गराउन आज सार्वजनिक अपिल गरिएको जानकारी दिनुभयो ।
सो दिन काठमाडौँको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधि भएको थियो ।
आचार्यले भन्नुभयो, “ती घटनामा संलग्न व्यक्तिहरुका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरुसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ ।”
उहाँले सूचना र सूचनाकर्ताको गोपनियता कायम रहने पनि जानकारी गराउनुभएको छ । उक्त घटनामा प्रहरीले ११० जना भन्दा बढीलाई पक्राउ गरिसकेको छ ।
हिजो र आज गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई पक्राउ गरेको जनाएको छ ।
उक्त घटनामा २ जनाको मृत्यु भएको छ भने नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरीतर्फ २२ जना र प्रर्दशनकारीतर्फ ५१ जना गरी १२३ जना घाईते भएका छन् ।
काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी जम्मा १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।
यस्तै प्रहरीतर्फ ६ वटा गाडी, सरकारी कार्यालयको ४ वटा गाडी, नखुलेको ६ वटा गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाईकलसहित ६ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ ।