काठमाडौँ, ४ चैत : नागरिक लगानी कोषले संकलित पुँजी राष्ट्र निर्माण र सरकारको प्राथमिकतामा परेका आयोजनाहरुमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर भएको जानकारी गराएको छ ।
कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कोषले त्यसका लागि नीतिगत व्यवस्थामा समेत सुधार गर्न थालेको जानकारी गराएको हो ।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले लगानी विविधिकरण गनुपर्ने चुनौती रहेको जानकारी गराउँदै भन्नुभयो, “छरिएर गएको पुँजी एकीकृत गरी राष्ट्र निर्माणका कसरी लगानी गर्ने सरकारको प्राथमिकतामा रहेको क्षेत्रमा कसरी लगानी वृद्धि गर्ने? उत्पादनमुकल क्षेत्र, कृषि, उद्योग, होटल, पर्यटन क्षेत्रमा कसरी लगानी बढाउने? भन्ने चुनौती रहेको छ, त्यसका लागि केही नीतिगत व्यवस्था गरे पनि सुधार गर्नुपर्ने देखिएको छ, अब त्यसतर्फ अघि बढिन्छ ।”
उहाँले कोषमा अनलाइन सेवासमेत विकास गर्दै लगिएको जानकारी गराउँदै नगरिक पेन्सन योजनाको दायरा विस्ता गर्न जरुरी रहेको र त्यसमा सरकारको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले देशको आर्थिक वृद्धि र पूर्वाधारका क्षेत्रको विकासका लागि सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमको मार्गदर्शकका रुपमा अवलम्बन गर्दै अघि बढिरहेको कोषले सेवा प्रतिको जवाफदेहिता, पारदर्शीताका साथै सेवा सुधार गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
उहाँले बचतकर्ताको विश्वास जित्दै संकलित वित्तीय स्रोत विविध क्षेत्रमा लगानी बढाउँदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले ठूलो अंक मुद्दति निक्षेपमा रहेको पाइएकाले यसलाई कोषले सरकारका प्राथमिकताका क्षेत्रमा लगानी बढाउन जरुरी रहेको औँल्याउनुभयो ।
उहाँले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गरी रोजगारी, गरिबी निविारण र आयमूलक क्षेत्रमा गोगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले सानो पुँजी सङ्कलन गरी अहिले २ खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत संकलन गर्न सफल हुनु सामान्य कुरा नभएको बताउनुभयो ।
उहाँले कृषि, पूर्वाधार, उत्पादनमुलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो । उहाँले स्थापनासँगै निरन्तर नाफामा गइरहेको कोष बचत बढाउँदै जानु सफल भएको बताउँदै अझै बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कोष विसं २०४७ सालमा स्थापना भएको हो । स्थापना कालमा २ करोड ४४ लाख बचतबाट सुरु भएको संस्थामा अहिले ६ अर्ब ४८ करोडको चुक्ता पुँजी पुगेको छ । विभिन्न ७ वटा स्कीमहरु सञ्चालन गर्दै आएको छ । यी सबै कार्यक्रमबाट जगेडा कोषसहित २७३ अर्ब वित्तीय स्रोत संकलन गर्न सफल भएको छ ।
पुस मसान्तसम्म २६४ अर्ब विभिन्न क्षेत्रमा लगानी गरेको कार्यक्रममा जानकारी दिइएको थियो । साँढे ६ लाख सहभागीलाई सेवा दिँदै आएको कोषले शेयर डिबेञ्चरहरुमा पनि लगानी गरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कोषका पूर्वअध्यक्ष डा भोजराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषका अध्यक्ष अच्युतम पौडेल, कोषको कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापा लगायनले बोल्नुभएको थियो ।