काठमाडौँ, २९ फागुन : काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
आज विहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपाली ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर नै सडकमा होल्ड पनि गरिने छ ।
उहाँले भन्नुभयो, “हामीले नियम उल्लंघन गर्ने जो कसैलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर नै गाडी होल्ड गरेर राखिन्छ, सोही अनुसार प्रहरी परिचालन भएको छ । नियम उल्लंघन गरेको खण्डमा आवश्यक कारबाही, जरिवानाका साथै उसले दिनभर नै होली मनाउन नपाउने गरी होल्ड गरिन्छ ।”
त्यसका लागि उपत्यकामा १२० भन्दा बढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ ।
यसपाली ट्राफिक प्रहरी र जनपद प्रहरीले संयुक्त रुपमा जाँच अभियान चलाएको छ । हरके ठाउँमा संयुक्त परिचालन भएको र मापसे तथा लापसेका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रुपमा खटाइएको पनि उहाँले बताउनुभयो ।
प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध पनि गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृति अनुसार होली मनाउन अनुरोध गरेको छ ।
यस्तै काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृंखल रुपमा होली खेले कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोली तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा २ दिननै होली खेलिन्छ ।