काठमाडौँ, २८ फागुन : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यले अपनत्व लिएर मुलुकमा उत्पादनमा केन्द्रित विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उक्त पार्टीले आज काठमाडौँमा आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको अबस्थामा आर्थिक बजारलाई राज्यले खुला छाड्दा समस्या उत्पन्न हुने हुँदा पूर्वाधारको विकास नहुँदासम्म राज्यको नेतृत्व जरुरी रहेको औँल्याउनुभयो ।
डा भट्टराईले भन्नुभयो, “राज्यले नै पूर्वाधारमा लगानी गरेर आफ्नो बजार सिर्जना गर्नुपर्छ, औद्योगिकरणको पुर्वाधार गरी राज्यको अगुवाइमा नीजि क्षेत्रको विकास गर्नुपर्छ, नेपालको सन्दर्भमा राज्यको भूमिका त्यसमा बढी हुनुपर्छ भन्ने निष्कर्ष आफ्नो पार्टीको हो ।”
अध्यक्ष डा बाबुराम भट्टराईले सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशील भएको उल्लेख गर्दै अहिले विकासलाई प्रथमिकता दिनु नै पहिलो काम भएको बताउनुभयो ।
लोकतन्त्र विनाको समाजवाद अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै उहाँले लोकतन्त्रसहितको सामाजिक न्याय, समानता र निजी स्वतन्त्रतासहितको व्यवस्था हुनुपर्ने र त्यसैकारण वैकल्पिक शक्ति निर्माणको अभियानमा आफूहरु लागेको बताउनुभयो ।
उहाँले विचारमिल्ने दलसँग सहकार्य गर्दै वैकल्पिक शक्ति निमाृण गर्ने बताउनुभयो । उन्न लोकतन्त्रका लागि पनि उद्योगधन्दा कलकारखाना र उत्पादन वृद्धि गर्न जरुरी रहेको र अहिलेको राजनीतिक दलबाट त्यो प्राप्त हुने कठिन रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लगानी वृद्धि गरेर अघि बढ्न सक्नुपर्र्नेमा जोड दिँदै त्यसमा विचारको बहस गर्न जरुरी रहेको औँल्याउनुभयो । देशको समस्यामा केन्द्रित रहेर राजनीतिक शक्तिहरुबीच छलफल गर्न जरुरी रहेको औँल्याउँदै उहाँले परिवर्तनको आकांक्षा अनुसार विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिलेको समस्यामा प्रत्यक्ष निर्वाचन प्रणाली एकमात्रै समाधान हो भनेर भन्नु गलत भएको जिकिर गर्दै संसदीय प्रणालीमा तमाम समस्या रहेको स्वीकार गर्नुभयो । संविधानको व्यवस्थाका विषयमा पनि पर्याप्त छलफल गर्न सकिने उहाँको भनाइ छ ।
अहिले मुलुकमा २ वटा धार देखिएको छ, राप्रपा राजा खोजिरहेको छ र सरकारमा पनि सहभागी भइरहेको स्मरण गराउँदै उहाँले हाम्रो विकल्प संविधानभित्रैबाट खोजिने विकल्प हो भनेर प्रष्ट पार्न जरुरी रहेको बताउनुभयो । नयाँ शक्ति पार्टीले संविधानभित्रकै विकल्पको खोजी गरिरहेको हो भन्ने आफूलाई लागेको र यो विषयमा प्रष्ट पार्न जरुरी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्रत्यक्ष निर्वाचित राष्ट्रयतीय प्रणाली नेपालका लागि उपयुक्त नहुने दावी गर्नुभयो ।
नेपालको राजनीतिक संरचना भूगोललगायतले पनि निश्चित विषयमा दलको ह्वीप नलाग्ने वा स्वतन्त्र रुपमा बस्न पाउने अवस्था लागू गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
संविधान संसोधन गरेर यही व्यवस्थाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालले दुई छिमेकी मुलुकबाट भरपुर अवसर लिनसक्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले देशमा संकट छ सबैले भन्ने तर समाधानको उपाए कसैले ननिकाल्ने अवस्थाले बाधा उत्पनन गरिरहेको बताउनुभयो ।
नेता नै असन्त्ुष्ट भएर हिँडिरहेको अवस्थामा जनता किन सडकमा आए भन्ने कुरा ठूलो प्रश्न नभएको उहाँले बताउनुभयो । देशमा विभिन्न विचार र सोच भएका व्यक्ति रहेका तर आज देशलाई चाहिने समाधान कसैले दिन नसकेको उहाँको दावी थियो ।
उहाँले भन्नुभयो, “हाम्रो मौलिकतामा कोही गएका छैनौँ, आयातित कुरामा गइरहेका छौँ । देशको संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकारिकसको अवस्थामा समाजवादमा जाने कुराको स्पष्ट बाटो दलहरुसँग छैन ।”
यसका लागि आर्थिक विकास नै पहिलो शर्त भएको उहाँले बताउनुभयो । राज्यसत्ताका कतिपय अंगलाई यथास्थितिमा राखेर उनीहरुको तजविजमा नेताहरु चलेको नेता शर्माको आरोप छ । “हामीले लोकतान्त्रिक अभ्यास नै गर्न सकेका छैनौँ । राजनीतिक विचौलियाहरु छन्, जसले राजनीतिलाई पनि सही दिशामा जान दिएको छैन”, नेता शर्माको भनाई थियो ।
कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को लेखा आयोगका सदस्य डा जनकराज शाहले विशिष्ट अर्थ राख्ने राजनीतिक परिस्थितिमा नेपाल रहेको उल्लेख गर्दै राजनीतिमा कताकता वितृष्णा पैदा हुने गरेको औँल्याउनुभयो ।