काठमाडौँ, २६ फागुन : जिल्ला प्रशासन कार्यालय काठमाडौँले अबको २ महिनासम्म यहाँको तोकिएका क्षेत्रमा निषेधाज्ञ जारी गरेको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू गर्न रोक लगाएको हो।
काठमाडौँका प्रमुख जिल्ल्ला अधिकारी ऋषिराम तिवारीले त्यसरी कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उछृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने हुँदा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी उक्त आदेश जारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा देहायको क्षेत्रमा आइतवारदेखि नै लागु हुने गरी २ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।
साथै देहायका निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान वमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् विना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।
काठमाडौँ प्रशासनबाट जारी आदेशमा भनिएको छ, ‘संविधान एवं प्रचलित कानून प्रदत्त अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी र अति भएमा स्थानीय प्रशासन ऐन २०२८ तथा सार्वजनिक प्रदर्शन, हडताल, तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१८ बमोजिम क्षतिको मूल्याकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्ति बापतको रकम असुल उपर गराइने बेहोरासमेत सम्बन्धित सबैमा स्मरण गराइएको छ ।’
यी ठाउँमा धर्ना जुलुस गर्न पाइँदैन
१, शीतलनिवास (राष्ट्रपति कार्यालय महाराजगंज क्षेत्र) : त्यसको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोटदेखि १०० मिटर दक्षिणसम्म, दक्षिण पश्चिमतर्फ सामाखुशी जाने मोडदेखि सामाखुशी खोलासम्म ।
२, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र : केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म ।
३, सिंहदरवार क्षेत्रः भद्रकाली मन्दिर (तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरवार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म । यस्तै पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरवारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, सिहदरवार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म, पुरातत्व विभागको चोकदेखि सिंहदरवार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालतको पूर्वी मोडको प्रवेश मारदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म ।
४, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र : वालुवाटार पवित्र वर्कशप चोकदेखि नेपाल राष्ट्रबैंक हुँदै इटालिया चोक र सो चोकदेखि भाटभटेनीतर्फ ५० मिटरसम्म, इटालिया चोकदेखि पश्चिमतर्फ राष्ट्रिय सभा अध्यक्षको निवाससम्म र सो निवासदेखि गैह्रीधारा जाने सडकतर्फ १०० मिटरसम्म, प्रधानमन्त्री निवासको उत्तरपूर्वी मोडदेखि प्रधान न्यायाधीश निवासको मोडसम्म र सो मोडदेखि पश्चिमतर्फ १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासको मोडदेखि पूर्वदक्षिणतर्फ राष्ट्रियसभा अध्यक्षको निवासको मोडसम्म, राष्ट्रबंैक चोकदेखि पूर्वतर्फ जाने सडकको १०० मिटरसम्म ।
५, संसद भवन नयाँ बानेश्वर क्षेत्र : संसद भवनको चारैतर्फको सडकक्षेत्र, संसद भवनको दक्षिणपूर्वी मोडदेखि पूर्वतर्फ ३०० मिटरसम्म, बानेश्वर चोकदेखि पश्चिमतर्फ ३०० मिटरसम्म ।
