नारायण ढुंगाना ,
काठमाडौँ, २४ फागुन : नेपालमा छेपारोको तीनवटा नयाँ प्रजाति फेला परेका छन् ।
वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपाराहरु चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।
उक्त पहिचान तथा नामकरण गरी हालै अन्तरराष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । उहाँकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त ३ नयाँ प्रजाति फेला परेको हो ।

उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र इशान अगर्वाल, जर्मनीका फ्रान्क तिल्लक तथा अस्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए ।
नयाँ फेला परेका प्रजातिहरु मध्ये चितवनको उत्तरी क्षेत्र कविलास, शक्तिखोर, गैरीवारी, उपरदाङ्गगढीलगायत तनहुँको बन्दीपुर, दमौलीलगायत भिमादसम्म फेला परेको प्रजातिको नामाकरण ‘चितवन वेन्ट–टोड गेक्को‘ भनेर नामाकण गरिएको छ ।

दोस्रो प्रजाति अन्नपूर्ण संरक्षण क्षेत्रअन्तरगत पर्ने ल्वाङ्ग, घान्द्रुक क्षेत्र तथा कास्कीको नौडाडा क्षेत्रमा फेला परेको प्रजातिको नाम अन्नपूर्ण संरक्षण क्षेत्रले समुदायमा आधारित जैविक विविधता संरक्षणमा खेलेको भूमिका कदर स्वरूप तथा अन्नपूर्ण हिमशृंखलाको नाममा ‘एक्याप वेन्ट–टोड गेक्को‘ भनेर नाम राखिएको छ ।
तेस्रो प्रजाति मनास्लु संरक्षण क्षेत्रमा भेटिएको थियो र सो प्रजातिको नाम नेपालकै वरिष्ठ वन्यजन्तुविज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको यागदान स्वरूप सो प्रजातिको नामाकरण ‘करण वेन्ट–टोड गेक्को’ भनेर राखिएको छ ।

यसरी फेला पारिएको ३ वटा नया प्रजातिहरु यस अनुसन्धानका मुख्य शोधकर्ता सन्तोष भट्टराईको विध्यावारिधि अध्ययनको क्रममा सन् २०२३ को अप्रिलदेखि सेप्टेम्बरसम्म भेटिएका थिए । उक्त प्रजाति पक्का गरेपछि जर्नलमा प्रकाशित गरी हालैमात्र सार्वजनिक गरिएको हो ।
वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालमा पहिले पनि ३ वटा प्रजातिहरु फेला परेका र सो प्रजातिहरुको नमुनाहरु विदेशको संग्राहलयहरुमा राखिएकाले अहिले फेला परेका प्रजातिहरु संसारमै नयाँ भनेर एकिन गर्न विदेशमा सङ्ग्रहित नमुनाहरुको अध्ययन तथा तुलाना साथै तिनीहरुकै आनुवंशिक अध्धयन गरी यकिन गरिएको हो ।
यसरी अध्ययन गर्न नेपाल, भारत, अस्ट्रेलिया र जर्मनीको अनुसन्धानकर्ताहरुको टोली सामेल भएएको थियो । साथै सो अध्ययन टोलीले इलामबाट पहिले फेला परेको भनिएको २ वटा प्रजातिहरु अनुवांशिक अध्ययन गर्दा ति २ प्रजाति नभई एक प्रजाति भएको यकिन गरेको छ ।
गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारोहरु संसारभरी ३५० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका ३ नयाँसहित जम्मा ५ प्रजातिहरु मात्र पाइएको छ ।
सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्थाहरु ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको संरक्षणकर्मीहरु बताउँछन्। ।
सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिहरुको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिहरुको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको अध्ययन टोलीको नेतृत्व गर्नुभएका भट्टराईले बताउनुभयो ।