काठमाडौँ, २२ फागुन : नेपाल कला परिषद बबरमहलमा ललितकलाकी कलाकार कृति शाह ‘चन्द’को दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजार बढी कलापारखीले अवलोकन गरेका छन् ।
यही फागुन १९ गतेबाट सुरु भई आज सकिएको उक्त प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरु गरी एक हजारले अवलोकन गरेको आज समापनका अवसरमा कलाकार शाहले जानकारी गराउनुभयो ।
भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/677143574646830
उक्त प्रदर्शनीको अग्रज कलाकार तथा सयौँ कलाकार जन्माउन सफल शशिविक्रम शाहले पनि कला प्रदर्शनी अवलोकन गर्नुभएको थियो । आज समापनका अवसरमा कला अवलोकन गर्दै उहाँले भन्नुभयो, “पहिलो फिगरेटिभ बनाउँथिन्, अहिले अमूर्त कला बनाएकी रहिछिन्, निक्कै उत्कृष्ट लाग्यो, पहिलेको प्रदर्शनीभन्दा धेरै राम्रो र फरक पाएँ ।” कृति शाह उहाँकी छोरी हुनुहुन्छ ।

वरिष्ठ कलाकार शाहले अमूर्त कला बनाउन निक्कै गाह्रो हुने सुनाउनुभयो । “जे सोच्यो त्यही देखिन्छ, अमूर्त कलाको अभिव्यक्ति हेर्नेहरुको सोचाइमा भर पर्छ”, उहाँले थप्नुभयो ।
उहाँले कला राम्रो लाग्यो, पुग्यो भन्ने नै नहुने बताउँदै जति सकिन्छ सुधार गर्दै लैजानुपर्ने र हरेक पटक नयाँ हुने सुनाउनुभयो । उहाँले थप्नुभयो, “सिर्जना रोकियो भने राम्रो हुन्न, सिर्जना गरिरहनुपर्छ, रोकियो भने सन्तुष्टि हुँदैन । रोकिएपछि पालिस नै हुन्न, जति हिँड्यो उति फाइदा हो नी ।” कलालाई संगीतले ठूलो सहयोग गर्ने र शक्ति पनि दिने उहाँले सुनाउनुभयो ।

कलाकार कृति शाह चन्दले गएको वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा आयोजना गर्नुभएको थियो । यसपाली ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा ४५ कला समावेश गरी दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभएको हो । यहाँ प्रदर्शनीमा राखिएका एक दर्जन बढी कृतिहरु विक्रीसमेत भएको उहाँले सुनाउनुभयो ।
उहाँका मूर्त र अमूर्त कलाहरू प्रदर्शनीमा राखिएका थिए । रङ्का तरङ्गले केही बोलिरहेको, सङ्गीत दिइरहेको र छालहरु छचल्किरहेका जस्ता देखिले सिर्जनाले कला पारखीलाई आकर्षित गराएको थियो ।
एक जना कलाकार उत्तम डङ्गोलले एउटा एकल प्रदर्शनीमा १०, १२ वटा सिर्जना विक्री हुनु र एक हजार बढीले अवलोकन गर्नु आफैँमा सफल प्रदर्शनी भएको सुनाउनुभयो ।

कलाकार शाहले यो प्रदर्शनीमा मानिसको जीवन भोगाइलाई सिर्जनामा उतारिएको बताउनुभयो । समय परिस्थिति र वास्तविकता बीचको बेमेल र जीवनलाई समय र परिस्थितिसँग ढाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको उहाँले बताउनुभयो ।
उहाँका सिर्जनामा अँध्यारोबाट उज्यालोको खोजी, माया, साँस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए । रङका तरङगहरुलाई उहाँले आकर्षक ढंगले प्रस्तुत गर्नुभएको थियो ।
कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, त्रिभूवन विश्व विद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा, अग्रज कलाकार राधेश्याम मूल्मी, वरिष्ठ कलाकार कृष्ण मानन्धर, वरिष्ठ साहित्यकार रोचक घिमिरे, ललितकला गुठीका संस्थापक स्मृति कर्माचार्य, वरिष्ठ कलाकार गोविन्द डङ्गोल, कवि विप्लव प्रतिकलगायतले आवलोकन गर्नुभएको थियो ।
