-नारायण ढुङ्गाना
काठमाडौँ, २० फागुन : कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाँही कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित अवस्थामा पनि देखिन्छ र ? आत्मा अनेक परिकल्पनाभन्दा बाहिरको कुरा हो ।
रङ्गीन दृष्यमा देखिन सम्भव नहोला तर पनि आत्मा भनौँ तयसको भाव सधैँ मानवसँगै रहन्छ ।
‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय, परिस्थिति र तिनका वास्तविक अवस्थाको वर्णन गर्ने भावात्मक रङ तरङ्हहरु क्यानभासमा सजाउनुभएको छ ।
रङका तरङ्गलाई आवाजको अनुभव दिलाउने कोशिष गरेको उहाँले सुनाउनुभयो । उहाँका सिर्जनामा उज्यालोको खोजी, अटल मायाँ, जनजीवन, साँस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देशहरु उहाँका कलामा देख्न सकिन्छ ।
भिडियाे अन्तर्वार्ता :
जसरी क्यानभासमा सयौँ थरी रङहरुले फरक मनोविज्ञानको भाषा बोल्छन् त्यसैगरी ति रङहरुमा कुची खेलाएर जीवनका अनगिन्ती भावहरु मिसाउन उहाँ सफल बन्नुभएको छ ।
कलाकार चन्दले आत्मिक रङहरुको बहावलाई रङहरुको उतारचढावमार्फत छाम्ने प्रयत्न गर्नुभएको छ । स्वतन्त्रता अनि आत्माको रङदेखि प्रेमका रङसम्मका सुन्दर चरित्रका अनेक चित्रको रस्वास्वादन गर्न भने नेपाल कलापरिषद बबरमहल पुग्नैपर्छ ।
‘फ्लुड आर्ट’को अमूर्त धारहरुको वर्चश्व रहेको उहाँका कलाहरुमा रङहरु अनेक दिशामा रङ्गीन भएर बग्दै गरेको देखिन्छ । कला पारखीहरुले आफ्ना मनोदशाको बगाई कलाकृतिमा भेट्न सक्छन् । कलाकृतिमध्येको एक स्वतन्त्रता शीर्षकको शीर्ष कला छ । जहाँ इन्द्रेणीका सातै रङहरुका अनेक घुम्तीहरुबीच एक युवती स्वतन्त्र उडान भर्दै गरेको देखिन्छिन् ।
यसले आम महिलाहरुको जीवनको वास्तविकता उद्घोष गर्छ । बरमहलमा यहाँ २२ गतेसम्म रहने दोस्रो एकल कला प्रदर्शनीबारे कलाकार कृति शाह भन्नुहुन्छ, “महिला हुन सजिलो कहाँ छ र कति हो कति रङका साङ्लाहरुले उसलाई बाँधिरहेका हुन्छन्, त्यसबाट माथि उठेर सबैका अघि पहिचान खोज्नु भीडमा ठूलो स्वतन्त्रताको माग गर्नु जस्तै हो ।”
‘दियो र उज्यालो’ शीर्षकको उहाँका अर्को फ्लुड आर्टले अँध्यारोमा बग्दै गरेको दिपको उज्यालोको कथा बोल्छ । मानौँ सारा जगत अन्धकारमय छ तर आशाको सानो दियो अझै ज्वाजल्यमान छ र अँध्यारोलाई पराजित गर्ने अर्को महाभारत युद्धको तयारी गर्दैछ ।
‘फेस्टिभल’ शीर्षकका कलाका श्रृङ्खलाहरुले रमणीय रङका बहावहरुले समाजमा व्याप्त अनेक खुशीका रङ्गीन सपनाको झल्को दिन्छ । नेपालमा होली पर्व नजिकिँदै गर्दाको आभास गराउँछ । रातो, पहेँलो, हरियो, निलो अनि तिनमा मिसिएका अरु धेरै रङहरु जसले हावामा मिसिएरै होलिका नामको नकारात्मक उर्जा मेटाउन कोशिष गरिरहेका देखिन्छन् ।
अमूर्त र मूर्त भावको मिश्रणका रुपमा रहेको पारसमणी शीर्षकको उहाँको कलाले मानिसले आफूभित्रको अथाह शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ । भौतिकतामा लिप्त मानिसहरु धन, दौलत, मणाी माणिक्यको आशमा अन्यत्र भौँतारिरहेको वर्तमान परिदृष्यले उहाँका कलालाई सबल बनाएको छ । समसामयिक परिवेषलाई छुँदै उहाँले विदेशीले गरेको जे पनि राम्रो र आफ्नो स्रोतको अवमुल्याङ्कन गर्ने प्रवृति हटाउँदै देशभित्रै पारसमणीको खोजी गर्नुपर्ने सन्देश दिनुभएको छ ।
प्रार्थना शीर्षकको अर्को एक कलामा एक जना बालक विश्व शान्ति र मानव जीवनमा शान्तिको कामना गरिरहेका देखिन्छन् । समग्र पृथ्वीको भावी पुस्ताको प्रतिनिधित्व गर्ने त्यस कलाले वर्तमान अशान्ति, मनमुटाव र दुर्दान्त अवस्थाहरुको अन्त्यको आशा राखेको कलाकार चन्द औँल्याउनुहुन्छ । नयाँ पुस्ताले नकारात्मक सोचलाई त्यागेर एक आपसमा भाईचाराको भावना राखि अघि बढ्ने सोच बढाउनुपर्नेमा जोड दिनुहुन्छ ।
‘अटुमन लभ’ शीर्षकको अर्को कला प्रदर्शनीको अर्को प्रमुख आकर्षण नै हो । जहाँ दुई प्रेमिल जोडी प्रेममा लिप्त छन् । प्रेमलाई जाडो, गर्मी वा कुनै पनि मौसमी चक्रले छुँदैन । जसरी पनि यो जीवन्त बनेर वर्षीन सक्छ भन्ने भाव कलामार्फत कलाकार चन्दले सन्देश दिन कोशिष गर्नु भएको छ । अर्धनग्न युवतीको भाव भङ्गिलाई उहाँले यसरी रङहरुमा सुन्दर तवरले सजाउनुभएको छ ।
यसले न्युड आर्टतर्फ पनि कलाकारको कुची भविष्यमा अब्बल रुपमा चल्न सक्ने संकेत गर्छ । ‘भाइब्रेसन’, ‘रिदमिक फेयर’, ‘मदर अर्थ’, ‘हार्मोनी’ लगायतका कलाकृतिमा फरक रङसँगै फरक सोचहरु विस्तारित छन् ।
उहाँकै शब्दमा ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी राख्नुको मुख्य तात्पर्य मानिसको जीवनमा सययको माग एउटा हुन्छ परिस्थिति वेग्लै हुन जान्छ र वास्तविकताले अर्कै मोड लिन्छ । जसरी इच्छा आकांक्षाहरू समय अनुरूप परिवर्तन हँुदै जान्छ त्यसरी नै मानिसले आई–परेका वास्तविकतालाई स्वीकार्नु पर्दछ ।
उहाँ भन्नुहुन्छ, “सफलता पाउन कुनै प्रसिद्धी र भौतिक सम्पति आर्जन गर्नु मात्र नभई मनको शान्ति र शुद्ध आचरण प्राप्त गर्नु पनि हो।”
जे जस्तो परिस्थिति आएता पनि अन्याय र अत्याचार नहोस् कसैले अन्याय र अत्याचार नगरोस् भन्ने चाहना कलामा व्यक्त गरेको उहाँ औँल्याउँछिन् । रङका तरङ्गलाई आवाजको अनुभव दिलाउने कोशिष गरेको उहाँले सुनाउनुभयो ।
उहाँका सिर्जनामा मायाँ, उज्यालोको खोजी, अटल मायाँ, जनजीवन साँस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देशहरु उहाँका कलामा देख्न सकिन्छ । कला हेरेपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापाक कुलपति किरण मानन्धर उहाँले खेलाउनुभएको रङमा सकारात्मक भाव स्पष्ट अनुभव गर्न सकिने बताउनुभयो ।
त्यसो त अग्रज कलाकार गोविन्द डङ्गोल, राधेश्याम मूल्मी, कृष्ण मानन्धर, त्रिविका पूर्वउपकुलपति तथा पूर्व राजदूत डा केदारभक्त माथेमा कलाकार उत्तम डंगोलले प्रदर्शनी अवलोकन गर्नुभयो । उहाँहरुले कलामा मिठास, सकारात्मक सोच र शान्त प्राप्त हुने अनुभव सुनाउनुभएको छ ।