काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रादेशिक ललितकला प्रदर्शनीअन्तरगत आज कोशी प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न भएको छ।
यही फागुन १६ गतेदेखि सुरु भएको प्रदर्शनीको १० हजार बढीले अवलोकन गरेका छन्। प्रतिष्ठानको कोशी प्रदेश समन्वय समितिका संयोजक तथा प्राज्ञ परिषद सदस्य सञ्जय बान्तवाले धेरै स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको र आजसम्ममा १० हजार बढीले अवलोकन गरेको आँकलन गरिएको जानकारी दिनुभयो। उहाँले यसपटक सबै हिसाबले उत्कृष्ट भएको पनि सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘गत साल प्रदर्शनी मात्रै भएकोमा यसपालि प्रदर्शनीसँगै चित्रकला कार्यशाला, ललितकला संवाद, सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। क्यूरेटिङ पनि गजबको थियो, कार्यक्रम गुणस्तरीय भएको र कलाकार तथा कलाकृतिको सहभागिता पनि निक्कै धेरै रहेको थियो।
प्रदर्शनीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन १६ गते गर्नुभएकोमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले समापन गर्नु भएको थियो। समापनका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र प्राज्ञ परिषद सदस्य दिनेश्वर महतोको पनि सहभागिता रहेको थियो।
यसपाली १९७ कलाकारका २३० कलाकृति समावेश गरिएको बान्तवाले बताउनुभयो । गत वर्ष १३९ कलाकृति रहेकोमा अहिले बढेर २३० पुगेको हो।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रदर्शनीमा कोसी प्रदेश सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको सहकार्य रहेको थियो। सहआयोजकमा बेलबारी प्रज्ञा प्रतिष्ठान रहेको थियो।
यसअघि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम, कर्णाली प्रदेशस्तरीय ललितकला प्रदर्शनी सम्पन्न भइरहेको छ भने मधेश प्रदेशमा जारी छ। अब यही महिनाको अन्तिममा बागमती प्रादेशिक ललितकला प्रदर्शनी हुँदै छ।
