कलाकार कृति शाह ‘चन्द’ले ललितकला क्याम्पसबाट बिएफए (ब्याचलर इन फाइन आर्टस्) गर्नुभएको छ । रेनेशा आर्ट ग्यालरीमा र दिल्लीमा पनि कला सिर्जनाको अभ्यास/अध्ययन गर्नुभएकी शाह अहिले पनि कला सिर्जनामै सक्रिय हुनुहुन्छ । उहाँ सङ्गीतमा पनि रुचि राख्नुहुन्छ। मूर्त तथा अमूर्त दुवै विधामा कूची चलाइरहनु भएकी उहाँ सन् १९९० देखि नै सक्रिय हुनुहुन्छ । फागुन १९ देखि २२ गतेसम्म उहाँको एकल कला प्रदर्शनी नेपाल कला परिषदमा हुँदै छ । प्रस्तुत छ, कलासम्बन्धी उहाँसँग समृद्धिखबरले गरेको कुराकानी :
तपाईंको विचारमा कला के हो ?
कला आफ्नो मनको भावना व्यक्त गर्ने माध्यम हो । अरूलाई आफ्नो भावना दर्शाउने पृष्ठभूमि हो । मनभित्रका कुरा पोख्ने माध्यम हो ।
कला क्षेत्रमा आउन तपाईंलाई के कुराले आकर्षित गर्यो ?
सबै मान्छेमा कलाको गुण हुन्छ । कसैमा बढी होला भने कसैमा कम होला । मेरो प्रेरणाका स्रोत बुबा शशिविक्रम शाह हुनुहुन्छ। पहिलो प्रेरणा मलाई घरमै पिताजीबाट मिलेको हो । सानैदेखि उहाँको काम र प्रसिद्धि देखेर लोभ लाग्यो । त्यही भएर कला क्षेत्रमा जोडिएँ । यसका साथै प्रकृति, समाज, रङहरूसँग खेल्न मन लाग्ने, इन्द्रेणीका रङसँग खेल्न पाउँदा आत्मसन्तुष्टि मिल्छ, त्यही कुराले आकर्षण गरायो ।
बुबाको कलायात्रा र योगदानको दाँजोमा पुग्न चुनौती लाग्दैन ?
त्यो त हरेक मान्छेको आ-आफ्नो गुण र दोष हुन्छ । कोहीसँग कसैलाई दाँज्न मिल्दैन जस्तो लाग्छ । बुबा जति पुग्न नसके पनि मेरो आफ्नै किसिमको कला छ नि । मेरा कला कसैले मन पराउँछ होला, कसैले मन पराउँदैन होला तर त्यसो हुँदैमा मैले सिर्जना नगर्ने कुरा हुँदैन । मेरो काम निरन्तर जारी रहन्छ ।
तपाईंले दोस्रो कला प्रदर्शनी पनि आयोजना गर्दै हुनुहुन्छ । त्यसको बारेमा पनि जानकारी गराइदिनुस् न ?
खासमा ‘समय परिस्थिति र वास्तविकता’ शीर्षकमा आजबाट २२ गतेसम्म एकल कला प्रदर्शनी गर्दै छु । यसमा मलाई कलाकार उत्तम डंगोलजी अनि ललितकला गुठीकी संस्थापक स्मृति कर्माचार्यजीले धेरै प्रेरणा र सहायता दिनुभयो । उहाँहरूप्रति धेरै आभारी छु । प्रदर्शनीले मानिसको जीवनमा उतारचढाव हुन्छ । यसमा समयले एउटा माग गरिरहेको हुन्छ । परिस्थितिले अर्कै मोडतिर लगिरहेको हुन्छ तर वास्तविकता अर्कै हुन्छ । सोचेको जस्तो हुन्न तर त्यसो हुँदैमा निरास हुनुहुँदैन भन्ने सन्देश दिने छ । अवलोकन गरेर सुझाव दिनुहोला।
आर्ट बनाउन थालेको निकै भइसकेको छ तर एकल कला प्रदर्शनी भर्खर दोस्रो गर्दै हुनुहुन्छ त ?
म परिमाणभन्दा गुणस्तरमा विश्वास गर्छु। अर्को कुरा घर व्यवहार पनि छ । त्यसलाई पनि हेर्नुपर्छ । म निष्ठावान् भएर पनि हो कि, कसैलाई पनि नाइँ भन्न नसक्ने बुबाको जस्तै भएर पनि होला। कलामा कसैलाई भेदभाव र पक्षपात नगरेर बनाउनलाई समय लाग्छ । त्यही भएर पनि प्रदर्शनी गर्न ढिला भयो ।
यहाँको कला विधाचाहिँ कुन हो, कस्ता चित्र कोर्न मन लाग्छ?
मैले मूर्त र अमूर्त दुवै चित्र कोर्छु तर मूर्तमा नै बढी काम गर्छु । अमूर्त कला पनि गरेकी छु । स्टिल लाइफ बनाउँदा छुट्टै आनन्द आउँछ, प्रकृतिसँग घुलमिल हुँदा अर्कै सन्तुष्टि मिल्छ । लगभग हप्तामा एक, दुई दिन कलालाई दिन्छु । पछिल्लो समयमा एक महिना भने फ्लो आर्ट गरेर कस्तो निस्किन्छ भनेर एक्सपेरिमेन्ट गरेकी थिएँ ।
विश्वको तुलनामा नेपाली कलाको अवस्था कस्तो पाउनुभएको छ?
विश्वमा कति दिग्गज कलाकारहरू माइकल एन्जेलो, लियोनार्दो, मित्र राष्ट्रकै एमएफ हुसेन, लक्ष्मण श्रेष्ठ, मेरा बुबा शशिविक्रम शाह हुनुभयो, उहाँहरूको एउटा इतिहास छ । विश्वका ठूला आर्टिष्टहरूले राम्रा पेन्टिङ तयार पारेका छन् तर नेपाली भएर गरेको कामलाई अवमूल्याङ्कन गर्न पनि त भएन । नेपाली स्रोत र साधनमा रहेर जुन कला बनाइन्छ, त्यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ । हामीले पनि वातावरण प्राप्त भयो भने विश्वमा नेपाल कम छैन ।
नेपालमा जसरी कलाको विकास गर्नुपर्ने हो, त्यो पर्याप्त भएको छ जस्तो लाग्छ?
पर्याप्त त छैन तर सरकारीस्तरबाट स्कुलहरूमा कला सिर्जना गर्न वातावरण दिनुपर्छ । प्रतिस्पर्धात्मक कलाका कार्यक्रम गर्ने, छात्रवृत्ति दिने । अन्तरराष्ट्रियस्तरमा कार्यक्रमहरू गर्ने तथा अन्तरसंवादमा सहभागी गराउन सके विकास हुन्छ । सरकारको लगानी योजना पनि हुनुपर्छ ।
सरकारले व्यापारीहरूलाई निश्चित प्रतिशत आम्दानीको कलामा लगानी गनुपर्ने वातावरण निर्माण गर्न सके प्रगति हुन्छ जस्तो लाग्छ । बजेटकै व्यवस्था गरेर कला प्रदर्शनी, अन्तरसंवाद, कला सामग्रीहरू उपलब्ध गराउन सके प्रभावकारी हुन्छ । कानुनी र नीतिगत व्यवस्था प्रभावकारी बनाउनुपर्छ ।
आर्ट नै गरेर जीवन धान्न सकिन्छ जस्तो लाग्छ ?
हुन्छ होला सायद । पहिले, पहिले त धेरै संघर्ष गर्नुपर्छ, मैलाई नै पनि आर्ट नै गरेर गुजारा हुँदैन जस्तो लाग्छ । मेरो बुबाकै कुरा गर्दा उहाँले युवा अवस्थामा केही गर्न सक्नुभएन । अनुभव हुँदै गएपछि उमेरले ८४ पुगेपछि उहाँ बल्ल सफल हुन लाग्नु भा’छ । टेक म्युजिएमले पनि उहाँको पेन्टिङ लियो । त्यो समय आएपछि सबै कुरा हुँदो रै’छ भन्ने लाग्छ ।
महिला कलाकार र उनीहरूका कलाको अवस्था कस्तो पाउनुभएको छ ?
मेरा सिनियर जुनियरहरू साथीहरूको अवस्था राम्रै छ जस्तो लाग्छ तर जति हुनुपर्ने हो‚ त्यो भने भएको छैन । उनीहरूका लागि वातावरण सिर्जना गनुपर्छ । हौसला प्रदान गर्नुपर्छ । खुट्टा तान्ने प्रवृत्ति गर्नु भएन । सरकारले पनि महिला कलाकारका लागि विशेष ध्यान दिनुपर्छ ।
भिडियो अन्तर्वार्ता :