काठमाडौँ, १६ फागुन : सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, संखुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते तथा घर क्षति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भुकम्पका कारण ती जिलाहरुमा ६ जना घाइते भएका छन् । सबै क्षेत्रमा गरेर कुल १ पूर्ण र ३ आंशिक गरी ४ घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको जनाइएको छ ।
काठमाडौँमा २ जना घाइते भएका छन् भने संखुवासभामा २ घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् ।
तीन परिवार विस्थापित भएको पनि प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । ती जिल्लाहरुमा अहिलेसम्म प्राप्त विवरणमा १३ वटा घटना भएको पनि प्रहरीले जनाएको छ ।
आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । भूकम्प देशका धेरै जिल्लामा महसुस गराएको थियो ।