काठमाडौँ, १५ फागुन : काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका ४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको हो ।
उक्त शव ओखल्ढुङ्गाको मानेभञ्याङ गाउँपालिका ७ बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहोर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो । उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।
फोहोर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ ।
शवलाई त्रिवि शिक्षण अस्पतालमा शव राखिएको र खोजतलास गर्दा आज परिवार सम्पर्कमा आएकाले परिवार आएपनि शव बुझाइने जनाइएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।