काठमाडौँ, १२ फागुन : ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।
गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिनुभयो ।
गएको माघ २२ गतेदेखि निरन्तर वार्ता र सम्बाद भइरहेको जानकारी दिँदै उहाँले वार्ताबाट नै निकास निस्कने भन्दै छलफलमा अउन अनुरोध गर्नुभएको हो ।
उहाँले आज एक सूचना जारी गरी भन्नुभएको छ, “केबलकार निर्माण स्थगित गनर्ने र पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, साँस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ ।”
सरकारले समस्या समाधानका लागि माघ २० गते उक्त वार्ता टोली गठन गरेको थियो । माघ २२ गते सरकारी वार्ता टोली र आन्दोलनरत पक्षको वार्ता टोलीबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते विस्तृत छलफल गर्नेलगायतका ६ बुँदे सहमति भएको थियो ।
पुनः माघ २७ गते भएको छलफलले अन्तिम टुंगो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन । नो केबलकार समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा २ पटक झडप भइसकेको छ । सरकारी वार्ता टोलीले भने पटकपटक वार्तामा आउन अपिल गर्दै आएको छ ।
आन्दोलनरतपक्षले भने वार्ता र आन्दोलन सँगसँगै लैजाने जनाएको छ ।