काठमाडौँ : रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी आजदेखि सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुटवलमा आयोजित एक समारोहका बीच कला प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
चित्र, मूर्ति, लोक कलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको प्रदर्शनीमा यहाँको १२ जिल्लाका १२३ जना कलाकारका १८० कलाकृति समावेश गरिएको छ ।
उद्घाटन समारोहमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिने भन्दै कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताउनुभयो ।
यही फागुन १४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा स्थानीय र ऐतिहासिक पहिचान झल्कने चित्रहरू कोरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटालगायतले सम्बोधन गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा र नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीको सहआयोजनामा प्रदर्शनी सुरु भएको हो ।
यहाँ चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला, कार्टुनकला, फोटोग्राफी कलालगायतका कलाकृतिहरु समावेस गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले जानकारी दिनुभयो ।
मौलिकताको जर्गेना, रोजगारिको सिर्जना र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ प्रतिष्ठानले थालेको यो देशव्यापी ललितकला अभियानले नेपाली मौलिक ज्ञान र कलापरम्परामा विशष्ट प्रभाव पार्ने उहाँले बताउनुभयो।

‘यस पटकको प्रदर्शनीमा प्रस्तुत हुने कलाकृतिहरुले दर्शकलाई सौन्दर्यबोध गराउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, स्थानीय कलाकारहरुको प्रतिभा उजागर गर्ने, कला तथा कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनुका साथै समग्र नेपाली ललितकला क्षेत्रलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु’, संयोजक महतोले भन्नुभयो।
प्रतिष्ठानको सातै प्रदेशमा सुरु गरेको कला प्रदर्शनीको यो चौथो कार्यक्रम हो । यसअघि गण्डकीमा सम्पन्न भइसकेको छ भने कर्णाली र सुदुरपश्चिममा प्रदर्शन जारी छ ।