काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई मुख्य विषय बनाइ यहाँ वरपरका दृष्यसमेत कैद गर्दै आज कलाकारले क्यान्भासमा रङ भरेका छन् ।
२० जनाभन्दा बढी कलाकारले आज दिनभर स्वयम्भूको फेदीमा बसेर यसैगरी क्यानभासमा रङ भर्दै विभिन्न कलाकृति उतारेका छन् । उहाँहरुका कलाकृतिमा स्वयम्भूनाथ र त्यस वरपर बनाइएका आकर्षक संरचना तथा उपत्यका आसपासका दृष्य एउटै क्यान्भासमा अटाएको थियो ।
स्वयम्भूलाई विभिन्न कोणबाट कलाकारले आफ्ना सिर्जना पस्किएका थिए । “आहा ! कति राम्रो स्वयम्भूनाथ”, सहभागी एक जना कला पारखी ईश्वर शर्माले साथीहरुसँग भने, “हेर न ऊ त्यो माथिको स्वयम्भू दुरुस्तै बनेको छ ।”

यहाँ उपस्थित भएका कला पारखी तथा दर्शकहरुले क्यान्भास र आर्ट पेपर हेर्दै आहा ! कति राम्रो स्वयम्भू भन्दै प्रशंसा गरेका थिए ।
यो अवसर आजदेखि सुरु स्वयम्भू महोत्सवले जुराएको हो । महोत्सव व्यवस्थापन समिति सदस्य तथा उक्त कला कार्यशाला संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले अग्रज र नवकलाकार गरेर २० भन्दा बढी चित्रकार भेला भई आज दिनभर यहाँ कला सिर्जना गरिएको बताउनुभयो । कार्यशालामा सहभागी भएका कलाकारले यहाँ बनाएका कला सिर्जनाको आजै प्रदर्शनी समेत गरेका थिए ।
काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो स्वयम्भू । यसलाई महाचैत्य पनि भनिन्छ । यही चैत्यलाई मुख्य विषय बनाएर कलाकारले कुची चलाएका थिए । जलरङ, एक्रेलिक, तेल रङलगायत विभिन्न विधामा चित्रकारले बौद्ध स्तुप बनाएका थिए ।
यहाँ उपत्यकामा पानी भरिएका बेलामा यहाँ विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए ।

त्यसपछि वैैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरी दहमा रोपेका थिए । अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पति भएको भन्ने मानिन्छ ।
संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ । काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठूलो भूमिका रहेको छ ।
भगवान मन्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ । नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनि आएको बताइन्छ ।
यसरी धार्मिक, साँस्कृतिक, पुरातात्विक हिसाबले पनि महत्वपूर्ण मानिने स्वयम्भूमा स्वदेशी तथा विदेशीहरु घुम्न औँधी मन पराउँछन् । त्यही मेसोमा आज स्वदेशी सहित विदेश पर्यटकले कला सिर्जनाबाट थप मनोरञ्जन र जानकारी लिन पाए ।
आज यहाँ महोत्सव नै आयोजना भएकाले घुम्न र अवलोकन गर्न झन् सहज भइरहेका बेला कलाकारका सिर्जना देखेर आगन्तुकहरु थप उत्साहित भएका थिए । अर्का कलाकार उत्तम डङ्गोलले कलाको खानी काठमाडौँ त्यसमाथि स्वयम्भू भनेपछि आफैँमा महत्वको विषय भएको बताउनुभयो । उहाँले उक्त महोत्सवमा कलाको स्टल नै लिनुभएको छ ।