काठमाडौँ, ९ फागुन ः देशमा आगलागी र त्यसबाट हुने क्षति भयाबह बन्दै गएको छ । गएको एक महिना (माघ महिना)मा देशभरमा ४७८ वटा आगलागीका घटना भएको छ ।
ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा ११ जना पुरुष, १० जना महिला र १ बालक रहेका छन् । ती घटनाहरुमा २६ पुरुष, ५४ महिला, ४ बालक र ३ बालिका गरी ८७ जना घाइते भएका पनि उहाँले बताउनुभयो ।
ती आगलागीबाट १७ परिवार विस्थापित भएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा ३ हजार ५०३ जना प्रहरी परिचालन भएको पनि आचार्यले बताउनुभयो ।
सबैभन्दा बढी कोशी प्रदेशमा आगलागी १२९ वटा आगलागीका घटना भएको छ । त्यसपछि मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा ३९, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ३२ र सुदुरपश्चिम प्रदेशमा ४७ आगलागीका घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता आचार्यले ती आगलागीबाट ६८ वटा घर, ६६ वटा गोठमा क्षति भएको छ ।
कुल २४७ वटा पशुचौपाय क्षति भएको छ । ती आगलागीबाट १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।