काठमाडौँ : नेपाल प्रहरीले यहाँको बूढानीलकण्ठमा घर भाडामा लिएर अबैध सट्टेबाजी खेलाउने अखडामा छापामारी २३ जना भारतीय पक्राउ गरेको घटना नसेलाउँदै फेरि २ अर्बको कारोबारमा संलग्न ४ भारतीयलाई पक्राउ गरेको छ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका २ तौलुङस्थित घर भाडामा लिई विभिन्न अवैध अनलाइन गेमिङ वेब साईटहरुको प्रयोग गर्दै अनलाइन जुवा (सट्टेबाजी) खेल्ने÷खेलाउने कार्यमा संलग्न भारत घर भइ बूढानीलकण्ठ बस्ने २२ वर्षीय मोहम्मद आरिफ हुसेन, ४२ वर्षका अब्दुल कलाम, २५ वर्षका अविसेक मदेसिया र ४० वर्षीय ईरफान पठान रहेका छन् ।
विशेष सूचनाका आधारमा काठमाडौँ जिल्ला प्रहरी, प्रहरी वृत महाराजगञ्ज र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीको संयुक्त टोलीले गएराति उनीहरुलाई सोही घरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
काठमाडौँ प्रहरीले आवश्यक प्रारम्भिक अनुसन्धानका कानुनी प्रक्रिया पूरा गरी आज उनीहरुसहित घटनाविवरण सार्वजनिक गरेको हो ।
प्रवक्ता बोहराले भन्नुभयो, “प्रारम्भिक अनुसन्धान गर्दा ती भारतीय नागरिकहरुले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको कारोबार हुने गरी अबैध अनलाइइन जुवा (सट्टाबाजी) खेल्ने÷खेलाउने कार्य गरेको देखिन आएको छ, उनीहरुमाथि अनुसन्धान गर्न आज काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।”
ल्यापटप र मोबाइल १२, १२ थानसहित सामानहरु बरामद गरिएको छ । उनीहरुमाथि सट्टेबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि गएको माघ २८ गते पनि प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको सूचना पाएपछि छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरिएको थियो ।