काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, कर्णली प्रदेश समन्वय समितिको सहकार्यमा मंगलबारदेखि सुर्खेतमा कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी सुरु हुँदै छ ।
फागुन ६ गतेदेखि १० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ को सबै तयारी पुरा भएको प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले जानकारी दिनुभयो ।

‘यसपाली राम्रो कुरा के छ भने राउटेको कला प्रदर्शनी हुँदैछ र उनीहरुले लाइभ हस्तकला बनाए देखाउँदै छन् । यो एकदमै महत्वको कुरा हो’, लामाले भन्नुभभयो ।
उनीहरुका कशी दगन, डाडु, पिर्का, मदुस, पन्यूलगायत ९ जना कलाकारका १० देखि १२ वटा कला कला प्रदर्शन हुने उहाँले बताउनुभयो।
सूर्यनारायण शाही, दीपक शाही, खगेन्द्र शाहीलगायत राउटेहरु पनि सहभागी हुने छन् । भोलि ११ बजे प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले उद्घाटन गर्ने छन् ।
जनमावि सुर्खेतमा ६५ जना कलाकारका ७० वटा कला प्रदर्शन हुने संयोजक लामाले बताउनुभयो ।
प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
महिनाव्यापी कार्यक्रमअन्तरगत गण्डकी प्रदेशमा यही फागुन ४ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी सुरु भइसकेको छ ।
सुदुरपश्चिम प्रदेशमा फागुन ८ देखि १२ गतेसम्म, लुम्बिनी प्रदेशमा फागुन १० देखि १४ गतेसम्म, कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म, मधेश प्रदेशमा फागुन २१ देखि २५ गतेसम्म र बागमती प्रदेशमा फागुन २७ देखि चैत १ गतेसम्म प्रादेशिक कला प्रदर्शनी हुँदैछ ।