काठमाडौँ : गएको माघ महिनामा अत्याधिक सवारी दुर्घटना भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै ४ हजार ५३५ वटा सवारीसाधन दुर्घटनामा परेको छ । कुल २ हजार ९०६ वटा दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारीसाधनमा मोटरसाइकल मात्रै २ हजार ४७४ वटा रहेको छ । यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो ।
त्यसपछि जिप कार र भ्यान, माइक्रो २१ दशमलब २१ प्रतशत दुर्घटना भएको छ । अन्यमा बस ५ दशमल ५३, ट्रक, ट्यांकर ६ दशमलव २, ट्याक्टर २ दशमलव ३६ प्रतिशत र टेम्पो ५ दशमलव १८ प्रतिशत दुर्घटना भएको छ । अन्य डोजर, लोडरलगायतका सवारीसाधन पनि दुर्घटनामा परेको पाइएको छ ।
दुर्घटनाका कारण
सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विष्लेषणले निष्कर्ष निकालेको छ । चालकको लापरबाहीले १ हजार १७९ दुर्घटना भएको छ ।
त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएको छ । बटुवाले बाटो काट्दा पनि दुर्घटना भएको छ । चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएको छ ।
१९९ को मृत्यु
ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ जना पुरुष, ३९ जना महिला, ११ बालक र २ बालिका रहेका छन्।
त्यस्तै ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र ३ हजार ३५१ ज्ना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।