काठमाडौँ : कास्कीको पोखरामा फागुन ४ गते (आइतवार)बाट सुरु हुने दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ को तयारी पुरा भएको छ । यो वर्षकै पहिलो प्रादेशिक कला प्रदर्शन गण्डकीमा हुन लागेको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य एवं उक्त प्रदर्शनीको संयोजन गर्नुभएकी सौरगंगा दर्शनधारीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सिर्जनशील कलाकार समूहको सहकार्य रहेको छ । फागुन ८ गतेसम्म पोखरा आर्ट ग्यालरी नयाँ बजारमा प्रदर्शनी हुने छ । .
प्रदर्शनीमा कुल ९० वटा कला समावेश हुने पनि उहाँले बताउनुभयो । यहाँ हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको कला पारखीले अवलोकन गर्न पाउनेछन्। यसले कलाकारहरुलाई जमघट मात्रै गराउँदैन कला संस्कृतिका विकास र रुपान्तरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रदर्शनीको आइतबार दिउँसो साढे १ बजे गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यक्रमका संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभागकी प्रमुख सौरगंगा दर्शनधारी अहिले पोखरामै हुनुहुन्छ । ‘गतवर्ष भन्दा धेरै राम्रो काम आएको छ । कलाको गुणस्तर पनि धेरै राम्रो छ । पोहोर ७२ वटा कला थियो, अहिले ९० वटा पुगेको छ, गत साल लोककला थिएन, अहिले त्योसहित सबै ६ वटै विधा समावेश भयो’, खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘स्थानीयले कार्यक्रमको अपनत्व लिन थाल्नुभएको पाइयो । यो धेरै खुशीको कुरा हो । म्याग्दी मुस्ताङबाट पनि कला समावेश भएको पाउँदा खुशी छौँ ।’
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्यसचिव मनकुमार श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञसभा सदस्य राधिका कँडेलको सक्रिया सहभागितामा प्रदर्शनी भव्य हुन लागेको उहाँले बताउनुभयो ।
सबै विधाबाट सातै प्रदेशलाई जितेर उत्कृष्ट हुने एकजनाले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ पनि पुरस्कृत गरिनेछ ।
प्रदर्शनीमार्फत छानिएका चित्र काठमाडौँमा जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ। राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ।
याे पनि पढ्नुस् :
फागुनमा सातै प्रदेश ललितकलामय हुँदै, अन्तिम तयारी