काठमाडौँ, १ फागुन : काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा.२ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ जना मध्ये आज २७ जना उपचार पछि घर फर्किएका छन् ।
उनीहरु उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार नगरकोटमा पिकनिक खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगंजमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
अहिले २ जनाको केएमसी अस्पतालमा, ९ जनाको एनएमसी अस्पतालमा, १ जनाको मेडिसिटी अस्पतालमा, २ जनाको शिक्षण अस्पताल महाराजगंजमा, १ जनाको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र १ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिनुभयो । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।
त्यसको दुई दिन अघि मात्रै दक्षिणकालीमा यसैगरी स्कुलबस दुर्घटना हुँदा चालक र एक विद्यार्थीको मृत्यु भएको थियो ।