काठमाडौँ : लोकप्रिय गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको सामाजिक सञ्जालबाट बताएकी छिन्।
आज दिउँसो सामाजिक सञ्जालबाट एलिनाले आफूहरूको सम्बन्धमा आजबाट पूर्णविराम लागेको जानकारी दिएकी छन्। उनले पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै भावुक स्टाटस पनि पोष्ट गरेकी छिन्। उनले सापोकाटालाई सफलताको शुभकामना पनि दिएकी छिन्।
उनले भनेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आआफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छाडेकी छु।’
एलिनाले माघ १८ मा काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। उनले बागलुङका विष्णु सापकोटासँग २०८१ वैशाख १ मा विहे गरेका थिए। विष्णु अस्ट्रेलियामा व्यवसाय गर्छन।
उनको स्टाटस जस्ताको तस्तै :
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आआफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु। (magh 29)