काठमाडौँ । मह र मौरीको विकास र प्रवर्द्धन तथा किसानको समस्या समाधानको पहल गर्ने भनेपछि हुरुक्कै हुने, त्यो किसानको नाम हो ‘शिवप्रसाद शर्मा पौडेल’ ।
उहाँ नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ । तर चाहे मौरीको गोला डढाउँदा होस् या मौरी मार्दा, या चरणमा असर पर्दा अथवा मौरी र किसानका समस्या लिएर राज्यको ढोका ढकढक्याउन पनि आफैँ पुग्नुहुन्छ। चितवनको कालिका नगरपालिका निवासी उहाँले खोलेसिमलमा मह घर पनि सञ्चालन गर्नुभएको छ ।
यसपटक उहाँले तोरीमा विषादी अत्याधिक हुने गरेको कुरा सार्वजनिक गर्नुभएको छ । सामाजिक सञ्जालबाट उहाँले यस्तो चिन्ता प्रकट गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँको भनाई जस्ताको तस्तै
दाङ्गमा आजभोलि गोभी तोरीमा अत्यधिक विषादीको प्रयोग भैराखेको छ, जसले गर्दा मौरीपालक कृषकहरु अत्यधिक मर्कामा छन । घार वृद्धि गर्ने र मौरी बढाउने समयमा तोरीको फूलमा विषादीको प्रयोग राम्रो होइन ।
मौरीको महले जति फाइदा मान्छेले पाउँछन् । सायद विषादीले दिदैन होला । मौरी चर्यो भने तोरी फल्दैन भन्ने भ्रम कसले फैलायो? अत्यधिक विषादीको प्रयोगले घर घरमा क्यान्सरको बिरामी भेटिरहेका छन्, यसको जिम्मेवार को हो ?
हामीले कृषि ज्ञानकेन्द्र दाङ्गमा यस विषयलमा समस्या देखाउँदा त्याहाका बाली संरक्षण अधिकारिले यस बारेमा कुनै कानून न भएकाले कार्यालयले केही गर्न नसक्ने भन्ने जवाफ पायौँ । साथै अब किसानले मुलुक डब्लुटिओमा गैसकेकोले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने भए व्यवसाय गर अन्यथा छोड भन्ने जवाफ पायौँ । के यो जायाज हो?
यस्ता विदेशी विशेषज्ञबाट हाम्रा नेतृत्वहरुलाई केही तालिम र सुझाव दिलाउन सकिन्छ कि? के नेपाल डब्लुटिओमा गैसक्यो भन्दैमा नेपाली उत्पादनको संरक्षण राज्यले गर्नु पर्दैन? नेपालले पनि मनिला समिटमा हस्ताक्षर गरेको छ, जसको उद्देश्य आफ्नो राष्ट्रिय उत्पादनको संरक्षण गर्नु र आयात रोक्नु भन्ने हो । तर हाम्रो किसानका सङ्गठनहरुले किन यो कुरो बुझिरहेका छैनन्।
अन्तमा , किसानको हक हितमा काम गर्ने भन्दै खुलेका विभिन्न राजनीतिक दलका किसान सङ्घ सङ्गठनका पदाधिकारी हरुलाई पनि यसबारेमा जानकारी गरायियोस। साच्चै किसानको आन्दोलन चर्कियो भने, कुनै पनि मुलुकमा सरकार टिकेको इतिहास छैन ।