काठमाडौँ : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृहमन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम थालेको छ ।
आज विहान मन्त्रालयमा सरोकार राख्ने निकायसँग छलफल गरी गृहद्वारा गठित वार्ता टोलीले अहिले आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल थालेको हो ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा शनिवार मन्त्रालयले वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
“काठमाडौँ उपत्यकामै उहाँहरुसँग वार्ता सुरु गरेका छौँ, अहिले प्रारम्भिक छलफल भइरहेको छ”, सरकारी वर्ता टोलीका संयोजक भट्टराईले राससँग भन्नुभयो ।
गृह मन्त्रालयले शनिवार अबेर वार्ता टोली सार्वजनिक गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।
आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ । सोही टोली र सरकारी वर्ता टोलीबीच अहिले वार्ता भइरहेको हो ।
यसअघि उक्त विवादका कारण त्यहाँ झडपसमेत भएको थियो ।