काठमाडौँ : विश्वका विभिन्न देशमा झैँ नेपालमा पनि छुट्टै ललितकला सङ्ग्रहालय आवश्यक भएको काठमाडौँमा आज भएको एक कार्यक्रममा सहभागीहरुले जोड दिनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र इन्टरनेशनल काउन्सिल अफ म्युजिएम (आइकम) नेपालको आयोजनामा आज सोमवार काठमाडौँमा भएको ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रियामा सहभागीहरुले विभिन्न देशमा झैँ नेपालमा पनि छु्ट्टै कला सङ्ग्रहालय हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयका सम्बन्धमा ललितकलाका विविध विषय तथा क्षेत्रको खोज, अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले सन्सारमा सरकारी, गैरसरकारी तथा व्यक्तिले पनि सङ्ग्रहालय सञ्चालन गरेको र नेपालमा पनि धेरै प्रकृतिका सङ्गहालय रहेको जानकारी दिनुभयो । उहाँले राज्यस्तरबाटै कलाको मात्रै छुट्टै सङ्ग्रहालय निर्माण गर्न सके महत्व अझै बढेर जाने बताउनुभयो ।
आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दुवाडीले यस कार्यक्रम सुरुवाती बहस भएको बताउँदै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्यले नेपालमा कला सङ्ग्रहालय अन्यन्त जरुरी भइरहेको बताउँदै सङ्ग्रहालयको अभावमा धेरै इतिहास तथा महत्वपूर्ण दस्ताबेजहरु लोप भइरहेको बताउनुभयो । कला संग्रहालय कला राख्ने ठाउँ मात्रै नभएर यहाँ पुराना दस्तावेजका रुपमा रहेका कला सिर्जना) को संरक्षण पनि भएको उल्लेख गर्दै उहाँले यसतर्फ राज्यको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा आइकमकी प्रतिनिधि मीना लामाले ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालयका विषयमा प्रस्तुति दिँदै सङ्ग्रहालयलाई केवल सङ्ग्रहका रुपमा मात्रै लिन नहुने बताउनुभयो ।
उहाँले सङ्ग्रहालय, वस्तुहरूको सङ्कलन, सङ्ग्रह, सङ्ग्रहालयमा कलाको महत्त्व, सङ्ग्रहालयका प्रकार, वर्तमानस्थिति, गर्नुपर्ने कार्यहरू, ऐन, कानुन, सहकार्य, आर्थिक÷सामाजिक÷ऐतिहासिक पक्ष, समन्वयलगायतका विविध पक्षहरूका विषयमा जानकारी दिनुभएको थियो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सङ्ग्रहालय स्थापनाको जरुरी औँल्याएँदै प्रतिष्ठानले ऐतिहासिक, पुरातात्त्विक र समसामयिक कलाकृतिसमेत समेटेर बनाउन लागेको एसियास्तरको सङ्ग्रहालयलाई व्यवस्थित रूपमा अघि बढाउन विज्ञहरूको सल्लाह, सुझाव लिन यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कला, संस्कृतिसँग जोडिएको सम्पदासँगै मौखिक इतिहाससँग सम्बन्धित सङ्ग्रहालय पनि बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
समारोहमा प्रतिष्ठानका पदाधिकारी, प्राज्ञसभा सदस्य, कलाकार, विभिन्न सङ्घ–संस्था तथा क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूले सुझाव पेश गर्नुभएको थियो ।