काठमाडौँ : नेपाल प्रहरीको अनुसन्धानमा आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’मा अनाधिकृत प्रवेश गरी भाटभटेनी सुपरमार्केटको युजर आइडीमा पहुँच पुर्याई करको रकम हेरफेर गरेको भेटिएको छ ।
त्यसरी अनाधिकृत प्रवेश गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएर दोब्बर बढी पुर्याएको भेटिएपछि २ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार यसरी पक्राउ पर्नेमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवनको भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे रहेका छन् ।
उनीहरुलाई पक्राउ गरी काठमाडौँ ल्याएर अनुसन्धान थालिएको शाहीले आज राससलाई जानकारी दिनुभयो । उनीहरुले सिस्टम ह्याक गरेर भाटभटेनी सुपरमार्केटले सरकारलाई तिर्नुपर्ने कर दायित्व ६ करोडबाट बढाएर १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ देखाएको खुलेको छ ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरको ‘एकीकृत कर प्रणाली’बाट करदाता भाटभटेनी सुपरमार्केटको युजर आईडी र पासवर्डमा अनाधिकृत प्रवेश गरी करको दरहरु परिवर्तन गरेको पाइएको शाहीले बताउनुभयो ।
प्रहरी उपरीक्षक शाहीले भन्नुभयो, “उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकिकृत करप्रणालीको सूचनामा पहुँच पु¥याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी १३ करोड ९ लाख ५९ हजार ६०९ बनाएका रहेछन् । यो गलत तथ्याङ्क यार पारी करदातालाई बढी कर दायित्व सृजना हुने गरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत रुपमा प्रविष्ट गर्ने कार्य गरेको देखिएयो ।”
आन्तरिक राजस्व विभागले कैफियत देखिएपछि गएको पुस २५ गते अनुसन्धान गर्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अनुसन्धान थालेको सिआइबीले उक्त तथ्य फेला पारेपछि ती दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरूको ल्यापटप, सीपीयू, वाइफाइ राउटर, डीभीआर र मोबाइलसमेत बरामद गरेर थप अनुसन्धान जारी रहेको सिआइबीले जानकारी दिएको छ ।
बिहादी बिजनेस म्यानेजमेन्ट चितवनको निजी फर्ममा लेखापरीक्षण गर्ने उनीहरु त्यसरी सरकारी सफ्टवेर भित्र प्रवेश गरी करदाताकै युजर आइडीमा पहुँच पुर्याएर करको दर अस्वभाविक रुपमा बढाएको भेटिएको सिआइबीले जनाएको छ । उनीहरुमाथि विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा अनुसन्धान अघि बढाइएको छ