काठमाडौँ । पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम फेरि क्रमशः घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिन अघि तापक्रम ह्वात्तै बढेकोमा हिजो शुक्रवारदेखि भने फेरि घट्न थालेको हो ।
हिजो काठमाडौँमा अधिकतम तापक्रम २१.५ डिग्री मापन भएकोमा आज भने घटेर २०.५ डिग्रीमा झरेको छ । न्युनतम तापक्रम पनि केही घटेर आज ४.८ डिग्री मापन भएको छ ।
यसअघि यही माघ ९ गते काठमाडौँको तापक्रम बढेर अधिकतम तापक्रम २४.६ डिग्री पुगेको थियो भने न्युनतम तापक्रम पनि ६.२ डिग्री थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही अघिको भन्दा घट्दै गएको जानकारी दिनुभयो ।
तर पनि अहिलेको तापक्रम सामान्यभन्दा बढी नै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिन अघिको भन्दा तापक्रम घटेको छ, थोरै चिसो महसुस भएको छ, मुख्य गरी यसअघि माथिल्लो बायुमण्डलमा उच्च चपीय प्रणाली थियो । अहिले त्यो सरेर गएको छ, त्यसैले तापक्रम घटेको हो, अबको केही दिन यस्तैयस्तै हुने देखिन्छ ।” उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो बढाउँछ । तर धेरै घटेर भने नजाने पनि उहाँले बताउनुभयो ।
उहाँले अबको तीन दिन वर्ष गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने रहने जानकारी दिनुभयो ।
आज उपत्यका बाहिरका जिल्लामा पनि तापक्रम घटेको छ । यही माघ ९ गते सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र विरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ ।
तर आज राति महाशाखामा भएको रेकर्ड अनुसार दिपायलको अधिकतम तापक्रम २५.२ डिग्री र विरेन्द्रनगरको अधिकतम तापक्रम २४.४ डिग्रीमा झरेको छ । अन्य मापन केन्द्रहरुमा पनि यही ९ गतेको भन्दा अधिकतम र न्यूनितम तापक्रम केही घटेको छ । जुम्ला र जिरीमा न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।