काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीवार अग्रज कलाकार सन्तकुमार शाक्यसँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ । ७८ वर्षका अग्रज कलाकार शाक्यका जीवनका संघर्षमय कथा छन् ।
मूर्ति चोरेको आरोपमा २१ दिन प्रहरी हिरासतमा परेको अनुभव संगाल्नुभएका शाक्यले हरेश नखाई काममा तल्लिन हुँदा यो सफता पाउनुभयो। उहाँले आफूले सफलता मात्रै पाउनुभएन नयाँ पुस्तालाई समेत सीप हस्तान्तरण गरेर उदाहरणीय बन्नुभएको छ ।
कतिपय कलाकारले छोरा छोरीलाई सीप हस्तान्तरण नगर्दा मौलिक कला हराउने अवस्थामा छ । तर शाक्यले आफ्नो छोरा, छोरी र नातीलाई समेत धातु मूर्तिकलाको सीप सिकाउन सफल हुनुभएको छ । उहाँले हस्तकला महासंघमास मेत जोडिएर सीप सिकाएको आफुनो अनुभव रहेको सुनाउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार शाक्य बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । उहाँले शाक्यको कला क्षेत्रप्रतिको साधना प्रशंसनीय रहेको धारणा राख्दै ज्ञानलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सन्तकुमार शाक्य मूर्तिकार मात्र नभएर सामाजिक अभियन्ताका साथै नाट्य, सङ्गीत विधामा पनि समर्पित स्रष्टा भएको बताउनुभयो ।
उहाँले शाक्यका कला, सिप, ज्ञान थुप्रैका लागि प्रेरणाको स्रोत भएको धारणा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरता दिने बताउनुभयो ।
कलाकार सन्तकुमार शाक्यले आफ्नो बाल्यकाल, कला यात्रासँगै मूर्तिकलाको विविध पक्ष तथा आयामका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले मूर्तिकलाको ज्ञान, सिपलाई पुस्तान्तरण गर्न आवश्यक रहेको औँल्याउँदै आफ्ना परिवारका सदस्यले पनि यसलाई निरन्तरता दिएको बताउनुभयो ।

कार्यक्रममा लेखक नानी हिरा शाक्यले पावर प्वाइन्टमार्फत कलाकार शाक्यका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



