काठमाडौँ, ११ माघ : काठमाडौंँमा १४ देशका ११९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ ।
नेपाल कला परिषद बबरमहलमा बिहीवारदेखि सुरु उक्त एक्स्पोले विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । एक्स्पो आगामी ४ दिन चल्ने छ ।
उहाँले यस्ता कार्यक्रमहरु प्रतिष्ठानबाट पनि हुँदै आएको र यसरी निजी क्षेत्रबाट समेत कार्यक्रम गर्दा अझ फलदायी हुने र कला पर्यटन विकासमा योगदान पुग्ने बताउनुभयो ।
एनएसजी इन्टरनेशनल आर्टिस्ट ग्रुपले आयोजना गरेको नेपाल आर्ट एक्स्पोमा नेपालका मात्रै ७० जना कलाकारहरुको सहभागिता रहेको छ ।
उक्त एक्स्पो अन्तर्राष्ट्रिय कला प्रदर्शनीको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास गरिएको उक्त एक्सोका क्यूरेटर इमरान हुसेनले जानकारी दिनुभयो ।
प्रदर्शनीमा नेपाल, बंगलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकारहरू र उहाँहरुका कलाकृति समावेश छन् ।
एक्स्पोमार्फत विश्वव्यापी कलात्मक अभ्यासहरूको अन्तरसम्बन्धलाई बढावा दिने विश्वास गरिएको हुसेनले बताउनुभयो ।
एक्स्पो अन्तरगत आज यहाँ परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला समेत हुने र उक्त कार्यक्रमले नेपाली सांस्कृतिक कलाको ऐतिहासिक महत्व र समसामयिक सान्दर्भिकतालाई अन्य कलाकारसँग जोड्न सहयोग पुग्ने बताइएको छ ।
यसबाहेक पोल्याण्डका प्रोफेसर एरेक मार्सिन्कोस्कीको नेतृत्वमा हुने कार्यशालाबाट पनि सिक्ने अवसर मिल्ने आज कार्यक्रममा जानकारी दिइएको थियो ।
चार दिनसम्म चल्ने नेपाल आर्ट एक्स्पो २०२५ प्रदर्शनी मात्र नभई यो सांस्कृतिक आदानप्रदान र कलात्मक अन्वेषणको उत्सव भएको र त्यसबाट सीमापार संवादलाई प्रोत्साहित गर्नै आयोगलकले जनाएको छ ।
विविध पृष्ठभूमिका कलाकारहरूलाई एकसाथ ल्याएर, एक्स्पोले साझा अनुभवहरू र सहयोगी रचनात्मकताको लागि ठाउँ सिर्जना गर्ने विश्वास गरिएको छ ।
एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले प्रदर्शनीले अन्तरराष्ट्रिय कलाका ज्ञान सीप सिक्नका लागि नेपाली कलाकारका लागि अवसर भएको र नेपाली कला संस्कृति पनि आदालनप्रदान हुने बताउनुभयो ।