काठमाडौँ : तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरु आइरहेको छ? यदि त्यसरी आइरहेको छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीहरुमा विश्वास नगर्नुस् । त्यसले तपाईलाई घरबार बिहीनसमेत बनाउनसक्छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले त्यसरी नौलो खालका नम्बरबाट आएको फोन उठाउन नहुने र त्यस्ता इमेलहरुको पनि विश्वास नगर्न तथा प्रतिक्रियासमेत दिन नहुने बताउनुभयो ।
उहाँले त्यसरी प्रतिक्रिया दिँदा र अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भरमा पर्दा मानिसहरु ठगिएकाले त्यसतर्फ विशेष सावधानी अपनाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
उहाँले पछिल्लो समयमा साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरु नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली इमेल भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न हुन साथै कुनै प्रतिक्रिया नदिनुहुन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।”
उहाँले त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको तथा कुनै शंका लागेमा ब्यूरोको आधिकारिक वेबसाइट cyberbureau.nepalpolice.gov.np मा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गर्नुभएको छ ।
ब्यूरोले आजै एक सार्वजनिक सूचना समेत जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शंका लागिमा नजिकका प्रहरीमा जानकारी गराउन समेत अनुरोध पनि गरेको छ ।