काठमाडौँ : उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा यातायात व्यवसायीहरुले सुझाव दिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबीच आज यहाँ भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले ऐन कानुन नै व्यवस्थित गरेर भए पनि ट्राफिक व्यवस्थापन मजबुद बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त बन्दै गएको र सवारी साधानहरु समेत अस्वभाविक रुपमा बढिरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले उपत्यकामा मात्रै झण्डै २१ लाख मोटरसाइकल रहेको र दुर्घटनामा बढी मोटरसाइकल देखिएको बताउँदै यसको नियमन जरुरी रहेको बताउनुभयो ।
उहाँले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन नसक्दा निजी सवारी साधन अस्वभाविक रुपमा बढेको र यसले ट्राफिक व्यवस्थापन प्रभावित बनाएको बताउनुभयो ।
उहाँले अहिले जसरी विद्युतीय सवारी साधन आइरहेको छ सोही अनुसारको संरचनाहरु निर्माण नहुँदा झन् समस्या बन्ने अवस्था देखिएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।
कार्यक्रममा अन्य यातायात व्यवसायी तथा यातायात क्षेत्रका मजदुरहरुले उपत्यका लगायत देशभरकै ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, अनावश्यक रुपमा यातायात व्यवसायीलाई तनाव दिन नहुने तथा जथाभावी राजस्वका नाममा चिट थमाउन नहुनेतर्फ पनि प्रहरीको ध्यानाकर्षण गराउनुभएको थियो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरीको कारबाही गर्ने कुनै उद्देश्य नभएको बताउँदै चालक आफँै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले छलफलमा उठेका कतिपय कुरा ट्राफिक प्रहरी भन्दा माथिको कुरा रहेको उल्लेख गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनमा कार्यालयले विशेष ध्यान दिएको बताउनुभयो ।
उहाँले ट्रापिकm कारबाही भन्दा ट्राफिक सचेतना तथा सडक सुरक्षालाई प्राथमिकता दिएको बताउँदै अब प्रविधिको अधिकतम प्रयोग गर्न थालिएको बताउनुभयो ।
ट्राफिक नियम मिच्नेलाई अफिसबाटै हेरेर कारबाही गर्न थालिएको बताउँदै उहाँले अब हरेक कामका लागि ट्राफिकमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने क्रममा ट्राफिक प्रहरी रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी प्रहरीहरुले यातायात सञ्चालनसम्बन्धी मापदण्डमा रहेर यातायात व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
https://www.facebook.com/samriddhisanchar/videos/931079329131415