काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आउँदो शैक्षिक शत्रदेखि लागू गर्न लागेको नयाँ पाठ्यक्रमका लागि आज सुरक्षा निकायसँग सुझाव लिएको छ ।
नयाँ पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयमा केन्द्रित रहेर सुझाव लिने क्रममा आज चारवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)सँग सुझाव लिइएको विभागका प्रमुख डा. पिताम्बर भण्डारीले जानकारी दिनुभयो ।
भर्खरैमात्र विभागबाट केन्द्रीय विभागमा स्तरोन्नति भएको सो विभागले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा चारवटै सुरक्षा निकायमा अधिकारीहरुले वर्तमान परिस्थितिलाई ध्यानमा राखेर समयसान्दर्भिक पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिनुभएको छ ।
उहाँहरुले विभागको पाठ्यक्रम समयानुकुल, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशलाई सुहाउने खालको तथा अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।
विगतको मिडिटरी तथा सुरक्षा फोर्ससँग हुने द्वन्द्वभन्दा अहिले विविधखाले द्वन्द्व देखिएको र यसको आयाम फराकिलो बन्दै गएकाले दिगो विकासका अवधारणा सँगसँगै मौलिक ज्ञान प्रणालीको विकास र प्रयोग गर्नुपर्नेमा उहाँहरुको जोड थियो।
उहाँहरुले सुरक्षा निकायको भूमिका के हो? भनेर राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणाली, द्वन्द्व उत्पन्न हुने कारण, द्वन्द्वको अवस्था र द्वन्द्व समाप्ति पछिको अवस्थाका विषयमा विद्यार्थीले बुझ्ने खालको पाठ्यक्रम जरुरी हुने सुझाव दिनुभएको छ ।
यस्तै सामाजिक सञ्जाल, एआइ र प्रविधिको उच्चतम प्रयोगबाट उत्पन्न द्वन्द्वलाई पनि पाठ्यक्रमले सम्बोधन गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।
परम्परागतसँगै अहिलेको समाज बुझ्ने खालको विषयवस्तुका साथै स्थानीय, राष्ट्रिय र अन्तराष्र्टिय द्वन्द्व, शान्ति र सुरक्षालाई ध्यानमा राखेर पाठ्यक्रम निर्माण गर्न पनि सुरक्षा अधिकारीहरुको सुझाव थियो ।
उहाँहरुले युवाहरु प्लस टु गरेपछि विदेशिने क्रम रोक्न समाज र गाउँलाई बुझ्ने र जोड्ने खालको पाठ्क्रम विकास गर्न पनि सुझाव दिनुभएको छ ।
कार्यक्रममा नयाँ पाठ्यक्रम निर्माण गर्दा विश्वको परिवेश र नेपालको आवश्यकता दुवैलाई ध्यान दिनुपर्ने र नेपालको द्वन्द्व व्यवस्थापनको मौलिक अभ्यासलाई छुटाउन नहुनेमा उहाँहरुको जोड दिनुभयो ।
यस्तै तनाव व्यवस्थापन र आत्महत्या रोकथानका विषय पनि जोड्न जरुरी रहेको सुझाव आएको विभागका प्रमुख डा भण्डारीले बताउनुभयो ।
कार्यक्रममा त्रिभूवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायका डिन प्राडा द्विविनन्द ढकाललले शान्ति व्यवस्थापनमा नेपालका आफ्नै मौलिक तथ्य रहेकाले ति अध्ययन सामग्री भएको र त्यस्ता विषयमा सुरक्षा निकायका तर्फबाट भोगेका र भएका अनुभव पाठ्यक्रमका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले समाजसँग जोड्ने मौलिम पाठ्यक्रम पस्किँदा सामाजिकस्तरलाई बढावा दिन सहयोग पुग्ने विश्वास रहेको बताउनुभयो । उक्त विभागले यसअघि त्रिविका पूर्वडिन, नागरिक समाजका प्रतिनिधि, सुरक्षाविद्लगायतसँग सुझाव लिइरहेको छ ।
अब पत्रकार, जनप्रतिनिधिहरुसँग सुझाव लिएर प्रस्तावित पाठ्यक्रमलाई अन्तिमरुप दिन लागिएको विभागका प्रमुख डा भण्डारीले बताउनुभयो ।
त्रिविले सन् २००७ मा द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग गठन गरेको थियो । सुरुमा स्नातकोत्तर तहको पढाइ भएकोमा विसं २०७४ सालदेखि विद्यावारिधि र २०७७ देखि एमफिल समेत जोडेर पठनपाठन गराएँदै आएको छ ।