काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदरुपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको र क्रमस फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमी न्युन चापीय प्रणालीका कारण यसरी बदली सुरु भएको र भोलि आइतवार दिउँसोपछि भने मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने छ ।
भोलि सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात हुने जानकारी दिँदै मौसमविद् महर्जनले दिउँसोतिर लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।
महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
केही दिन अघि भएको बदली जस्तै देखिने तर ठूलै पानी पार्ने स्ट्रङ प्रणाली भने देखिएको बताउँदै उहाँले सोमवारबाटै मौसम सुधार हुने पनि जानकारी दिनुभयो ।
तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । देशभरकै चिसो बढिरहेकाले पनि ठाउँठाउँमा जनजिवन समेत प्रभावित भइरहेको छ ।