चितवन : १५औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ।
महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।
उद्घाटन अघि र्यालाीमा सहभागि भएका, त्यसैगरी उद्घाटन कार्यक्रममा सहभागि भएका, उद्घाटनका दिनभर सहभागि भएका, महोत्सवको दोश्रो र तेश्रो दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब १ लाखले अवलोकन गरेको तथ्यांक निकालिएको सुवेदीले बताए ।
आज तेश्रो दिन शनिबार महोत्सव परिसर नारायणी नदी किनार भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्थ्यो । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
महोत्सवमा भोलि अस्मिता अधिकारी आउने
महोत्सवको चौथो दिन भोलि पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रारहस्टलरको लाइभ ब्याण्ड रहने छ ।
यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, कविलास इकाइ समिति कविलास चितवन, कलश मन्टेश्वरी चितवन, तमु ह्युल छोंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवनको प्रस्तुती रहने छ ।
पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।