काठमाडौँ : देशभरका अधिकाँश क्षेत्रमा आज मौसम बदली भएर तराईसहित पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ ।
तराईमा शीतलहरले केहीदिनदेखि नै जनजीवन प्रभावित पारिरहेको छ । जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो गराउने हुँदा स्वास्थ्य समस्याहरु पनि निम्त्याउने पर्छ । त्यसबाट बच्च विशेष सावधानी अपनाउन जरुरी छ, नत्र चिसोका कारण हुने स्वास्थ्य समस्याले मानिसलाई प्रभावित बनाउँछ ।
हुस्सु र कुहिरो के हो ? र यसबाट कसरी बच्ने? भनेर बुझनुपर्ने मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार उस्तैउस्तै लाग्ने हुस्सु र कुहिरोमा केही फरक फरक छ । उहाँका अनुसार हुस्सु र कुहिरो जमिन नजिकै रहने बादल हो ।
हुस्सु र कुहिरो बन्ने प्रक्रिया उस्तै भए पनि यी दुईबीच केही भिन्नता रहने मौसमविद् लामिछानेले बताउनुभयो ।
“यदी तपाईंले आफ्नो वरपरका वस्तु पनि देख्न सक्नुहुन्न भने त्यो कुहिरो लागेको मान्नुपर्छ, एक किलोमिटर पनि देख्न सकिन्न भने त्यो कुहिरो लागेको मान्नुपर्छ, कुहिरो लागेको बेला सापेक्षिक आद्रता १०० प्रतिशत हुन्छ”, मौसमविद् लामिछानेले भन्नुभयो, हुस्सु लागेको वेलामा भने केही परसम्म देख्न सकिन्छ, पाँच किलोमिटरसम्म देख्न सकिन्छ भने त्यसलाई हुस्सु लागेको भनेर बुझन्ुपर्छ । यो बेला सापेक्षिक आद्रता ७० प्रतिशतसम्म हुन्छ ।”
उहाँले सामान्य रुपमा बुझ्दा नजिकैको बस्तु देखिएको छैन भने त्यो कुहिरो हो र केही परसम्मको वस्तु देखिन्छ भने त्यो हुस्सु लागेको बताउनुभयो ।
यस्तो बेलामा चिसो बढ्ने हुँदा सामाधानी अपनाउनुपर्छ । हुस्सु र कुहिरो लागको बेलामा स्वास्थ्य, कृषि, यातायात लगायत क्षेत्रमा असर गर्ने पनि उहाँले बताउनुभयो ।
यस्तो बेलामा न्यानो भएर बस्नुपर्ने, गाडी गुडाउँदा हेडलाइट बालेर हिँड्ने, तातो खानेकुरा खाने, चिसोमा धेरै नहिँड्ने, न्यानो कपडा लगाएर बस्ने गर्दा यसबाट जोगिन सकिने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानहरूमा विहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानहरुमा दिउँसो समेत घाम नलागेको कारण तापक्रम घट्न गई चिसो बढेको छ ।
यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको र पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहीरो नियमित अनुगमन गरिरहेको र दैनिक बुलेटिन जारी गर्ने गरेको पनि जानकारी गराएको छ ।
आज काठमाडौँलगायत धेरै ठाउँमा मौसम बदली भएको छ । हवाई उडान समेत प्रभावित भइरहेको छ । भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । तराइमा हुस्सु र कुहिरो लाग्ने छ ।
यस्तै सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।