काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१÷८२ को गएको पाँच महिनामा विभिन्न प्रकृतिका काबाहीहरुबाट २ अर्ब २४ करोड भन्दा बढी राजस्व उठाएको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न विशेष कार्ययोजना बनाई लागे गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथानका लागि अभियानकै रुपमा कार्य गर्दै आएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बररामद ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाही अभियानबाट उक्त राजस्व रकम संकलन गरिएको हो ।
प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट मात्रै रु ९० करोड ५७ साख (४०.४२ प्रतिशत) राजस्व संकलन गरेको जानकारी दिनुभयो ।
यस्तै ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख अदालती फैसला कार्यान्वयनतर्फ रु ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु ४ करोड ३७ लाख रकम राजस्व संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै स्रोत नखुलेको रु २ करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु १ करोड ८३ लाख अवैध काठ बरामदबाट रु १ करोड २० लाख राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
साउनदेखि मंसिरसम्मको विवरण अनुसार अवैध पशुपंछी नियन्त्रण अभियानबाट १ करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट ९२ लाखभन्दा बढी राजस्व संकलन गरिएको पनि अधिकारीले जानकारी दिनुभयो ।