काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआइआईमा प्रस्ताव लैजानुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँमा आज नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियाका क्रममा नेता खनालले बिआरआई नेपालको हितमा रहेको समेत प्रष्ट पार्नुभयो ।
बिआरआईले तेस्रो विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा विआइआईका परियोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोन लिन हुँदैन भन्नु थ्रोत्रा अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।”
उक्त परियोजनामा नेपालले सम्झौता गर्दा भारतलाई के चोट पुगेको हो आफूलाई थाहा नभएको उहाँले बताउनुभयो । उहाँले बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरुरी रहेको बताउनुभयो । दुई छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरुरी रहेको औँल्याउँदै उहाँले बिआरआईलाई विवादको विषय नबनाउन अनुरोध गर्नुभयो ।
बिआरआई भनेको आपसी सञ्जालको आधुनिक सम्बन्ध भएको उल्लेख गर्र्दै उहाँले यो आधुनिक विश्व निर्माण गर्न सकिन्छ भन्ने अवधारणामा आधारित रहेको बताउनुभयो ।
बिआरआईको उद्देश्य पुर्वाधार विकास, उत्पादको पहुँच, वित्तीय लगानी, राष्ट्रिय नीतिको विकास र सम्बन्ध तथा नागरिक सम्बन्धको विकास रहेको स्मरण गराउँदै उहाँले यो नेपाली जनताको हितमा रहेको औँल्याउनुभयो ।
अहिले विश्वको ७५ प्रतिशत जनसंख्या बिआरआई भित्र परेको जानकारी गराउँदै उहाँले अहिलेसम्म ३ हजार परियोजनामा सम्झौता भइसकेको पनि जानकारी दिनुभयो ।
१५० भन्दा बढी मुलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा भइरहेको विकासले पनि विआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टी भएको दावी गर्नुभयो ।
नेता खनालले साम्राज्यवाद अघि बढाउने देशको जस्तो परियोजना बिआरआईको नभएको जिकिर गर्नुभयो । “साम्राज्यवादी देशको जस्तो उपनिवेश, अरुलाई लुटपाट गरेर कमाउने प्रवृत्ति बिआरआइमा देखिँदैन”, नेता खनालले भन्नुभयो, “यदी कोही विज्ञले त्यो औँल्याईदिनुभयो भने त्यसमा बहस गरौँला ।”