काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षासम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको भन्दै महाशाखाले चिसो बढ्ने हुँदा सावधानी अपनाउन अनुरोध गरेको हो ।
सो प्रणालीको प्रभावका कारण पुस १२ गते (शुक्रबार) अपरान्हदेखि पुस १३ गते (शनिबार) सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त मौसम प्रणालीको असरले तापक्रमसमेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभएको छ ।
तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको जनाउँदै यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रुपमा अद्यावधिक गरिने भएकाले जानकारी लिन अनुरोध गरेको छ ।
