काठमाडौँ : नेपालमा फेरि चिसो बढ्न लागेको छ । नेपालको पश्चिमी भु–भागहरुमा अबको केही दिन पुनः चिसो बढ्ने भएको हो ।
पश्चिमी न्युन चापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा र हिमपातसँगै चिसो बढ्ने सभावना रहेको जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलिबाटै पश्चिम नेपाल विशेष गरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमवार भने अझै बढ्ने देखिएको पनि उहाँले बताउनुभयो । त्यसको असर लुम्बिनी प्रदेशसम्मै पर्ने र केही असर काठमाडौँसम्मै आइपुग्ने पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै आउने र काठमाडौँमा पनि थोरै बदली भइ छिटफुटसम्म वर्षा हुनसक्ने छ, चिसो पनि केही बढ्ने छ ।” प्रणाली लुम्बिनीमा आइपुग्दा भने कमजोर हुने र त्यसका सामान्य असर मात्रै पूर्व तथा मध्यतिर सर्ने जनाइएको छ ।
जसले पश्चिम नेपालका हिमाली क्षेत्रमा बढी हिउँ पर्ने र पश्चिम नेपालका तराईका क्षेत्रमा चिसो बढ्ने पनि उहाँले बताउनुभयो ।
अहिले भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकाकारण कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ र बाँकी भु–भाग सामान्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरोको समेत लाग्ने सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यसअघि गएको मङ्सिर २९ गते यो वर्षकै धेरै चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम २ डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७.२ मा झरेको थियो । त्यसपछि अहिले विस्तारै तापक्रम बढेर चिसो केही कम भएको थियो ।