काठमाडौँ, ४ पुस । नेपालमा विभिन्न ४ स्थानको न्युनतम तापक्रम आज माइनसमा रहेको छ ।
जल तथामौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले केही दिन अघिभन्दा आज न्युनतम तापक्रम थोरै माथि भए पनि यी चार ठाउँको न्युनतम तापक्रम भने माइनसमा रहेको जानकारी दिनुभयो ।
महाशाखाका अनुसार जुम्ला, जोमसोम, जिरी र लुक्लाको न्युनतम तापक्रम माइनसभन्दा तल रहेको छ । आज साँझ पौने ६ बजे अध्यावधिक गरिएको तापक्रम विवरणमा जुम्लाको न्युनतम तापक्रम माइनस ५.५ डिग्री रहेको छ । यस्तै जोमसोमको माइनस २.५, जिरीको माइनस ०.७ र लुक्लाको माइनस १.० डिग्री रहेको छ ।
यसअघि मङ्सिर २९ गते जुम्लाको तापक्रम माइनस ७.२ डिग्रीसम्म झरेको थियो । सोही दिन काठमाडौँमा न्युनतम तापक्रम यो वर्षकै सबैभन्दा कम २ डिग्रीमा झरेको थियो ।
तर आज भने काठमाडौँको न्युनतम तापक्रम ४.८ डिग्री रहेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार मङसिर अन्तिम साताभन्दा आज न्युनितम तापक्रम अलि माथि रहेकाले थोरै कम चिसो महसुस गरिएको छ ।
आज विरेन्द्रनगरको ५.६, नेपालगञ्जको १०.२, भैरहवाको १०, पोखराको ८, विराटनगरको १०.५ र ताप्लेजुङको न्युनतम तापक्रम ६.५ रहेको छ ।
यसवर्ष हिउँदको समयमा केही ठाउँमा सामान्य बाहेक वर्षा हुन सकेको छैन । गत वर्षकोभन्दा यसपाली चाँडै चिसो बढेको छ ।