काठमाडौँ । काठमाडौँसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना भएको छ ।
पछिल्लो २४ घण्टामा भएको आगलागीबाट काठमाडौँको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी ९ जना घाइते भएका छन् ।
बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीय वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागी भएर मानिस घाइते हुनेक्रम बढेको बताउनुभयो ।
प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा भएको आगलागीमा परेर अन्य ९ जना घाइते भएका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ती आगलागीका घटनाबाट विभिन्न धानमालसहति १२ लाख बढीको आर्थिक क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीबस न्यानोका लागिआगो ताप्दा आगलागीका घटनाहरु भइरहेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।