काठमाडौँ, २४ मङ्सिर : काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ध्वनी प्रदूषण गराउने ५२ जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
यही मङ्सिर ९ गतेदेखि आजसम्मको उक्त जाँच अभियानका क्रममा ५२ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभएको छ ।
आज सोमबार मात्रै ध्वनी प्रदूषण गराउने १२ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि विगत लामो समयदेखि रूप परिवर्तन गरी शहरी क्षेत्रमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदूषण गर्ने, साईलेन्सर पाईपबाट आगोको झिल्कासमेत निकाल्ने मोटसाइकलहरू नियन्त्रणमा लिने अभियान जारी रहेकोमा यही १९ गतेदेखि भने ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालयको वातावरण विभागसँग समेत समन्वय गरी जाँच अभियान तीव्र पारिएको राउतले बताउनुभयो ।
।
साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, साइलेन्सर परिवर्तन गर्ने, डिभि किलर झिकेर ठूलो आवाज निकाल्ने जस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राउतले बताउनु भयो ।
नियन्त्रणमा लिएका मोटरसाइकलाई वातावरण विभागद्वारा परीक्षण गराइ स्वरुप परिवर्तन गरेकालाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुङ्गल पठाइने र अन्यलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम ट्राफिक जरिवाना गरिने छ ।
ध्वनी प्रदूषण गराइ सवारी साधन चलाउँदा बिरामी, वृद्धवृद्धा, बालबालिका तथा संवेदनशील क्षेत्र (अस्पताल, स्कुल)मा प्रत्यक्ष असर पर्ने भएकाले जाँचलाई अभियानकै रुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक राउतले जानकारी दिनुभयो ।
मोटरसाइकल चोरीमा संलग्न पक्राउ
यसैबीच काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको बवरमहलबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकामा इलामको इलाम नगरपालिका ८ तिल्केनी घर भई हाल काठमाडौँको सोह्रखुट्टे बस्ने २७ वर्षीय सौगात बानिया रहेका छन् ।
ललितपुरको सातदोबाटो सेल्सबेरी अगाडिबाट मोटरसाइकल खरिद गर्ने वहानामा टेष्ट ड्राइभका लागि बाग्मती प्रदेश ०२–०३७ प ९७३५ नम्बरको मोटरसाइकल लिएर बानिया गत मंसिर १३ गते फरार भएका थिए ।
काठमाडौँको बसुन्धारा बस्ने प्रसित शर्माले उक्त मोटरसाइकल खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा दिएको निवेदनका आधारमा
खोजी गर्ने क्रममा सोही मोटरसाइकल चलाई हिडेको अवस्थामा उनलाई पक्राउ गरिएको राउतले जानकारी दिनुभयो ।
आवश्यक अनुसन्धानका लागि बानियालाई प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण टिपाउन प्रहरीले अनुरोध गरेको छ ।