काठमाडौँ : चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आफ्नो पालिकामा देखिएका विद्युतका समस्याबारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई जानकारी गराउनुभएको छ ।
नेपाल प्राधिकरण प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौँमा रेग्मीले उहाँसँग भेट गरी विद्युतीकरणमा भइरहेको ढिलाई र अन्य विद्युतका समस्याबारे जानकारी गराउनुभएको थियो ।
सो क्रममा कार्यकारी निर्देशक घिसिङले देशका विद्युत नपुगेका क्षेत्रमा विद्युत पुर्याउने प्रमुख लक्ष्यका साथ काम गरिरहेको जानकारी दिँदै चितवनको पनि विकट चेपाङ क्षेत्रमा विद्युत पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
भेटवार्ताका क्रममा प्रमुख रेग्मीले कालिका नगरपालिकाको समग्र विद्युतीकरण तथा कालिका नगरको शक्तिखोर र सिद्धी क्षेत्रमा पर्ने वडा नं ८, ९ ,१० र ११ मा लाइन विस्तारको काम विगत ४÷५ वर्षअघि सुरु भए पनि ढिलाइ भएको विषयबारे ध्यानाकर्षण गराउनुभएको थियो । सो क्षेत्रमा पोलहरु त्यसै रहेका, ढलेर बसेको तर काम हुन नसकेको उहाँले जानकारी गराउनुभयो ।
यस्तै उहाँले कालिकाको पदमपुर क्षेत्रमा पर्ने वडा नम्बर २, ३, ४ र ५ तथा जुटपानी क्षेत्रमा पर्ने वडा नम्बर १, ६ र ७ मा विद्युत पोल होचो भएका ठाउँमा पोल फेर्नुपर्ने तथा भोल्टेज कम भएका स्थानहरूमा ट्रान्सफर्मर थप गर्नुका साथै बजार क्षेत्रमा रहेका लाइनको व्यावस्थापन गर्नुपर्ने आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।
उक्त विषयप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले कालिकाको विकट गाउँमा विद्युत पुर्याउन प्राधिकरण लागिरहेको बताउनुभयो ।
भेटवार्ताकै क्रममा उहाँले सो क्षेत्रको विद्युतीकरण हेर्ने नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण केन्द्रका प्रमुखलाई टेलिफोन गरी समस्या समाधानका लागि तत्काल कार्य अघि बढाउन निर्देशन दिनुभयो ।
रत्ननगर वितरण केन्द्रका प्रमुखलाई ठेक्का लागेको ५/६ वर्ष हुँदा पनि विद्युत पुर्याउन किन नसकेको भनी प्रश्न गर्दै कार्यकारी निर्देशक घिसिङले तत्काल काम सक्न निर्देशन दिनुभयो । काम गर्न नसक्ने भए तुरुन्त ठेक्का तोडेर अघि बढ्न पनि रत्ननरका वितरण केन्द्रलाई उहाँले निर्देशन दिनुभएको छ।
केही दिनमा त्यस क्षेत्रको अवलोकनमा आफू आउने जानकारी दिँदै घिसिङले पूर्ण क्षमतामा काम नभएको पाइएमा कर्मचारीसहितलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ ।
उहाँले नागरिकको घरमा विद्युत पुर्याउने कुरालाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताउँदै यसमा कसैले ढिलासुस्ती गर्न नहुनेमा जोड दिनुभयो ।
नगरप्रमुख रेग्मीले भेटघाट अर्थपूर्ण रहेको र भेटवार्ता स्थलबाटै टेलिफोन गरी समस्या समाधान गर्न कर्मचाीलाई निर्देशन भएकाले काम हुनेमा आफू विश्वस्त रहेकोे बताउनुभयो ।
भिडियो क्लीप :
https://www.facebook.com/samriddhisanchar/videos/2574343049429991