काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतवार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।
विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
सो प्रणालीको प्रभावका कारण आइतवार साँझदेखि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।
जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’
मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आइतवार विहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।