काठमाडौँ : नेपालमा वन डढेलो बढ्दो क्रममा रहेकाले चुनौती थपिँदै गएकोतर्फ थप सचेच हुँदै रोकथामको तयारीमा जुट्न विज्ञहरुले सुभाव दिएका छन् ।
आज काठमाडौँमा भएको डढेलोको जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय गोष्ठीका सहभागी विज्ञहरुले डढेलो लागेपछि नियन्त्रण गर्नुभन्दा डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय जिवपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति सम्बेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो ।
उहाँले जंगलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । उहाँले अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला आगलागीबाट प्रभावित भएको पनि जानकारी दिनुभयो ।
अर्का डढेलो विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो । उहाँले सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको जानकारी दिँदै जंगलबाट वस्तीमा डढेलो सल्किने क्रम पनि बढेको बताउनुभयो ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे राष्ट्रिय रणनीति आवश्यक भएको र यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।
डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरुको उचित व्यवस्थापन गर्नका लागि सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरुरी रहको उहाँले बताउनुभयो ।
वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले गएको वर्ष ७४ जिल्लामा ५ हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जंगल र घरसँगसँगै जोडिन पुग्दा जंगलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको सुनाउनुभयो ।
उहाँले जंगलका ज्वलनशील पदार्थ हटाउन सके डढेलो नियन्त्रणमा सहयोग पुग्ने हुँदा अब वन व्यवस्थापन यसतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभो ।
कार्यक्रममा विज्ञहरुले तथ्यांकसहित वन डढेलो, चुनौती र समाधानका उपाएका विषयमा प्रस्तुतिकरण दिनुभएको थियो भने प्यानल छलफल सेसनमा सहभागीहरुले डढेलो व्यवस्थापनमा प्रभावकारी काम हुन नसकेकोमा चिन्ता प्रकट गर्दै बेलैमा रोकथामका उपाय अवलम्बन गर्न सुझाव दिएका थिए ।