काठमाडौँ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ ।
भेलाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राज्ञले राष्ट्रलाई सही बाटोमा लैजान सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
प्राज्ञहरूले देशको थिङ्कट्याङ्का रूपमा काम गर्नुपर्ने बताउँदै उहाँले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबीच एकरूपता र तिनले गर्ने कार्यबीच सीमाङ्कन हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री पाण्डेले भेलाले निकालेको निचोडलार्ई कार्यान्वयन गर्ने पनि बताउनुभयो । प्राज्ञिक जगत्ले देश र समाजको हितका लागि चेतनाको निर्माण, नैतिक मूल्य–मान्यताको विकास, सुशासनको प्रत्याभूति दिनका समाजलाई मार्गनिर्देश गर्ने धारणा राख्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताउनुभयो ।
उहाँले भेलामा कला, साहित्य, संस्कृति, गीत–सङ्गीतलगायतका समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्ट पावर निर्माण गर्ने बताउनुभयो । उहाँले भेलाले प्रज्ञा–प्रतिष्ठान र विचार, प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा प्रज्ञा–प्रतिष्ठान र ज्ञानमा आधारित भएर छलफल भएको बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानहरूबिच निरन्तरको समन्वय र सहकार्यले परिणाम दिने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकीकृत योजना बनाएर प्रभावकारी ढङ्गले योजना कार्यान्वयन गर्नका लागि भेला हुनुभएका सम्पूर्णलाई स्वागत गर्नुभयो ।
सो सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठानबिच एक रूपतालगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
भाषा आयोगका सदस्य डा.पुस्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उहाँले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मीले संस्कृति नीति, सङ्ग्रहालय ऐन, प्रतिलिपि ऐन, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा व्यवस्थापन ऐन, प्राचिन स्मारक संरक्षण ऐनका बारेमा चर्चा गर्नुभयो । उहाँले मन्त्रालयले सम्बन्धित विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपसचिव कृष्णप्रसाद भट्टराई, गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले पनि धारणा राख्नुभएको थियो ।
समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता थियो ।
यस्तै भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उहाँहरूले प्रज्ञा–प्रतिष्ठानहरूबिचको एकरूपता र सहकार्यमा जोड दिनुभएको थियो ।