काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।
शनिवारदेखि सुरु हुने उक्त प्रतियोगिताको तयारी सकिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।
अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे। एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ।
जसमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्नेछ। दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन्।
नेपाल प्रिमियर लिग ९एनपीएल०मा सहभागी आठ टोलीमध्ये जनकपुर बोल्ट्सले मात्र मार्की नरहेका खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ।
बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेका छन्। जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भूर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ।
त्यस्तै जनकपुरका मार्की खेलाडी भने आशिफ शेख छन्। जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए।