काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर आजदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालुपदार्थको उत्पादन, विक्री तथा सेवनमा निषेध गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै यही मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिनुभयो ।
कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौँ प्शासनले चेतावनी पनि दिएको छ ।
काठमाडौँ प्रशासनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्धेश्यले देहाएका चार किल्ला भित्र कसैले पनि मांस, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ ।’
‘कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने बेहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ प्रशासनका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण लगायत पशुपति क्षेत्रको सबै भू–भागमा माछामासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने जानकारी गराइएको छ ।