काठमाडौँ : अबैध खेल सट्टेबाजमा ५५ करोडको कारोबार गरेको फेला परेपछि एक युवालाई पक्राउ गरिएको छ ।
बेटिङ कारोबारमा संलग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरए उपरीक्षक काजीकुमार आचार्यले ाजनकारी दिनुभयो । पक्राउ परेका उनलाई आजै सार्वजनिक गरिएको छ ।
अनुसन्धान गर्दा उनले ७५ वटा बैक खाता, १२८ वटा ईसेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख कारोबार गरेको फेला परेको पनि आचार्यले जानकारी दिनुभयो ।
उनले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको समेत फेला परेको प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धान विवरणमा उल्लेख छ ।
राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ।
उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने÷गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्नेलगायतका गैर कानूनी कार्य गरेको प्रहरीको निष्कर्ष छ ।
उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको पनि आचार्यले राससलाई बताउनुभयो ।
