काठमाडौँ । नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्य प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको छ ।
आज प्रहरी प्रधान कार्यालयमा भएको समीक्षा बैठकमा उक्त निष्कर्ष निकालिएको हो। बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधारविन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका कार्यमा अझ बढि क्रियाशील भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
थाती मुद्दा फछर्योट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्य गर्नुपर्ने एवम् तस्करी नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधिबाट समेत आ–आफ्नो प्रस्तुतीकरण भएको थियो ।
प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए ।